ढुङ्गा नफोेडे चुल्हो बल्दैन (अडियो सहित)

हस्त चौलागाई ।
कालिकोट, १ फागुन (रेडियो चंखेली) । कालिकोटको खाडाचक्र नगरपालिमा १ मा बस्दै आएका बादी समुदाय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका छन् । छाक टार्नकै लागि त्यहाँका बालबालिकादेखि वृद्धसम्म गिट्टी कुट्न बाध्य छन् ।
एक दिन मात्र गिट्टी नकुटे चुल्होे बल्दैन् । बिहान र साँझको छाक टार्नका लागि यहाँका बादी समुदाय सकि/नसकि गिट्टी कुट्न बाध्य छन् । खाँडाचक्र नगरपालिका वडा नम्बर १ निवासी मोति बादी ७२ वर्ष पुग्नु भयो । शारिरीक रुपमा कमजोर भएपनि छाक टार्नेका लागि उहाँले गिट्टी नकुटि हुँदैन् ।
यो बस्तीमा महिलाका पीडा पनि कम छैनन् । अधिकाँश महिलाहरु काखमा दुधे बालक च्यापेर चिसोमा गिट्टी कुट्न बाध्य छन् । दुइ महिनाको छोरालाई काखमा लिएर गिट्टी कुट्दै गर्नुभएकी उर्मिला बादीले आफ्नो पीडा यसरी पोख्नुभयो ।
दैलेखबाट २०४८ सालमा बसाई सरेर कालिकोट आएका बादी समुदायको संख्या ४१ जना रहेको छ । यहाँका साना बालवालिका,युवायुवती,वृद्धबृदा सवैजना गिट्टी कुट्दै जिवन गुजरा गरिरहेका छन् । उनीहरुको आम्दानीको स्रोत अरु केही छैन ।

यही गिट्टीसंग लडीबुडी नगरे पेट भर्न मुस्किल रहेको बताउनुहुन्छ स्थानीय चिना बादी । बादी समुदायको जीवनस्तर उकास्नका लागि राज्यबाट खासै पहल भएको छैन भन्ने त्यस समुदायको गुनासो छ ।

यता खाँडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डेले भने आफूहरु विभिन्न सामाजिक विकासका अभियानमा वादी समुदायलाई प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभएको छ । उहाँले लक्षित वर्गको वजेटबाट सीपमूलक तालिम पनि दिने गरिएको बताउनुभएको छ ।
आर्थिक रुपमा कमजोर र अवसरबाट बञ्चित बादी समुदायको जिविकोपार्जनका लागि राज्यले ठोस योजना ल्याउन जरुरी छ । उनीहरुको गास, बास र कपासको उचित व्यवस्थापन तर्फ सरोकारवालाहरुको ध्यान चाडै पुग्न सकोस् ।

सुन्नुहोस् अडियो रिपोर्टः