कर्णाली प्रदेशका सांसदहरुको पोशाक निर्धारण, संसद वैठक आज बस्दै

सुर्खेत, २५ चैत (जागरण) । कर्णाली प्रदेशका सांसदहरुको लागि पोशाक निर्धारण गरिएको छ । महिला र पुरुष सांसदका लागि छुट्टाछुट्टै पोशाक निर्धारण गरिएको हो । जसअन्तर्गत पुरुष र महिला सांसदका लागि कोट तोकिएको छ ।
पुरुष सांसदका कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ । यसअघि संसदले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोशाकलाई अपनाउने निर्णय गरेको थियो ।
जसअनुसार समितिले आज सांसदहरुको पोशाक टुंगो लगाएको हो । महिला सांसदका लागि कोटसँगै ढाँकाको धोती वा सारी विकल्पको रुपमा तोकिएकोे छ । यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी तोकिएको छ ।
पुरुष सांसदको हकमा दौरा, सुरुवाल र पाइन्टलाई पनि विकल्पको रुपमा दिइएको छ । यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पको रुपमा तोकिएको प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो ।
समितिले निर्धारण गरेको पोशाकका आधारमा अब सांसदहरु संसद बैठकमा सहभागि हुनुपर्नेछ । यस्तै प्रदेश सभाको लोगो पनि टुंगो लागेको छ । कार्यव्यवस्था परामर्श समितिले लोगो टुंग्याएको हो । प्रदेश सभाको लोगोमा महिला र पुरुषको हातले संयुक्त रपमा कर्णाली प्रदेशको नक्सालाई माथि उचालेको, बिच भागमा नेपालको झण्डा फहराएको र कर्णाली प्रदेशसभा लेखिएको हुनेछ । संसदको दशौं बैठक भोली दिउँसो १ बजे बस्दैछ ।