भेरीगंगाको चौथो सभाले के गर्‍यो ?

सुर्खेत, ३ फागुन (जागरण) । भेरीगंगा नगरपालिका सुर्खेतको चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको आय व्यय, योजना संशोधन गर्दै सभा सम्पन्न भएको हो ।
नगरपालिकाका सूचना अधिकारी कुल बहादुर खड्काले सभामा पौष मसान्तसम्मको आय र व्ययको अवस्था, संशोधित योजनाहरु पारित गर्दै सभा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले नगरसभा सन्चालन कार्यविधि २०७४ को दफा ३ को उपदफा (४) बमोजिम कार्यपालिकाको २०७५ माघ १७ गतेको निर्णय अनुसार सभा सम्पन्न भएको बताउनुभयो ।
सभामा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले सभाका सदस्यहरुलाई नगर विकासका लागि अझै कम्मर कसेर लाग्न आग्रह गर्नुभयो । उनले जनताको सेवा प्राप्त गर्ने अधिकारलाई वडागत रुपमा सबैले प्रभावकारिता प्रदान गर्न आग्रह गर्नुभएको छ ।
सभामा २४ वटा योजनाहरु संशोधन गरिएको छ । यसैगरी नगरपालिकाले योजना सम्झौता गर्ने म्यादलाई आगामी चैत्र मसान्तसम्म गर्ने गरी थप गरेको नगरपालिकाका उप प्रमुख रेणु आचार्यले बताउनुभयो । उहाँले जनताको आवश्यकता र नीति बमोजिम योजनाहरु संचालन गर्नुपर्ने भन्दै अनुगमनलाई कडाईका साथ कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खरेलले नगरपालिकाको दीर्घकालिन विकासका लागि कार्यपालिकाबाट भएका निर्णयहरुको कार्यान्वयन र आगामी दिनमा अझ प्रभावकारी कार्य थालनी गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नगरपालिकाको विकासका लागि सबै जना जागरुक भएकोले विकासको गतिले तिव्रता लिएको बताउनुभयो । सभामा सबै सदस्यहरुले नगरको विकासका लागि सबैको हातेमालो जरुरी रहेको बताएका थिए ।