सुर्खेत, ३ फागुन (जागरण) । स्थानीय स्तरका मूख्य अभिकर्ता परिचालनका लागि मानव अधिकार र अविभेद सम्बन्धी तीन दिने तालिम बराहताल गाँपालिका ४ तरंगामा सम्पन्न भएको छ । साझा आवाज परियोजनाको सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतको आयोजना तथा बराहताल गाउँपालिका वडा नं. ३ र ४ संगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटनका क्रममा बोल्दै वडा ३ का अध्यक्ष दत्तबहादुर बराल मगरले विकास र समृद्धिका लागि सबै भन्दा पहिले मानिस मानिस एकै हौऔँ भन्ने भावनाको विकास हुनुपर्ने बताउनुभयो ।
वडा नं. ४ का अध्यक्ष टेकबहादुर कठायतले सबै प्रकारका विभेद अन्त्यगरी समावेशी समाज निर्माणका लागि वडाले आफ्ना निती तथा कार्यक्रम बनाउने बताउनुभयो ।
कार्यक्रममा बराहताल स्तरीय मानव अधिकार पैरवी सञ्जालका अध्यक्ष कर्णबहादुर बि.क.ले सबै मानिसले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताउँदै समाजमा हुने विभिन्न प्रकारका भेदभाव अन्त्य गर्न सामूहिक रुपमा लाग्नुपर्ने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर रसाइली, फिल्ड अधिकृतहरु पुष्पा रौनियार र तारा ढकालले सहजीकरण गर्नुभएको थियो ।
मानव अधिकार, अविभेद र जातिय भेदभाव सम्बन्धी बनेका ऐन कानुनका बारेमा केन्द्रित तालिममा स्थानीय आमा समूह, यूवा क्लव, सामुदायिक वन, विद्यालय लगायतबाट प्रतिनिधित्व रहेको थियो ।