यस्ता छन् प्रदेश सरकारका निणर्य

सुर्खेत, ४ फागुन (जागरण) । कर्णालीमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले ‘जनता आवास कार्यक्रम’ कार्यान्वयन सम्बन्धी बनेको कार्यविधि स्वीकृत गरेको छ । भौत्तिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको उक्त कार्यविधि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै कर्णालीमा अब जनता आवास कार्यक्रम लागू हुने भएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अब प्रदेशमा यो कार्यक्रम लागू गर्ने बाटो खुलेको बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्देशिका, बहुवर्षीय आयोजना सञ्चालन सम्बन्धी निर्देशिका, प्रदेश अनुगमन तथा मूल्याकंन निर्देशिका, बजेट तर्जुमा तथा कार्यान्वयन निर्देशिका, सार्वजनिक नीजि साझेदारी सम्बन्धी विधेयक तर्जुमा र आर्थिक कार्यविधि ऐन संशोधनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
यस्तै बैठकले कर्णाली प्रदेश स्वयंसेवक परिचालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई सहमति दिने निर्णय पनि गरेको छ ।