मुना हमाल ।
सुर्खेत, ५ फागुन (जागरण) । स्थानीय सरकार गठन भएको आउँदो बैशाखमा दुई बर्ष पुग्दैछ । यो अवधिमा स्थानीय सरकार र जनप्रतिनिधिहरुको निकै आलोचना भयो । जनप्रतिनिधिहरु भ्रमणमा व्यस्त रहेको र आफ्नो सेवा सुविधामा मात्र केन्द्रित भएको भन्दै जनगुनासो बढीरहेको छ । आलोचना र जनगुनासो मात्र होइन, केही स्थानीय तहले नागरिकलाई आशा लाग्ने उदारणिय काम पनि गरेका छन् ।
अधिकाँश स्थानीय तहले बिकासका नाममा सडक निर्माणलाई प्राथमिकता दिएका छन् । सडक खन्ने बाहनामा जनप्रतिनिधिले आफैले डोजर समेत किनेका छन् । डोजर आतंकका कारण आफ्नै ठाउँमा रोजगारी पाउने आश गरेका स्थानीय रोजगार नपाएर कालापहाड जान बाध्य छन् । तर दैलेखको गुराँस गाउँपालिकाकाले स्थानीय नागरिकहरुलाई संलग्न गराएर गाउँपालिकामा हुने विकास निर्माणका कामहरु आवद्ध गराएको छ । ८० जना युवाहरुको कार्यदल गराएर विकास निर्माणका कामहरु सञ्चालन गरिएको बताउनुहुन्छ, गाउँपालिका अध्यक्ष खेमराज ओली ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा पनि केही उदाहरणिय काम भएका छन् । वीरेन्द्रनगर नगरपालिकामा जग्गाको जथाभावी कित्ताकाट रोक्ने निर्णयसमेत गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले यो निर्णयले उपत्यकालाई व्यवस्थित गराउनका लागि कोशेढुङ्गा बन्ने बताउनुभएको छ । वीरेन्द्रनगरकै वडा नम्बर ३ का वडा अध्यक्ष भुुपेन्द्र खत्रीले आफुले पाउने सबै सेवा सुविधा विपन्न बालबालिकाको पढाईमा खर्च गर्ने निर्णय गर्नुभएको छ ।
यस्तै कतिपय स्थानीय तहले सामाजिक सुधारका नमुना कामहरु गरेर जनतामा विकासको आश देखाएका छन् । छोरी बचत खाता खोलेर होस वा महिला सुत्केरी हुँदा अस्पतालसम्म निशुल्क लैजान एम्बुलेन्स सेवा समेत सुरु गरेका छन् । त्यस मध्येको कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका पनि एक हो । आफ्नो गाउँपालिकाले नियमित गर्भ जाँच गराए बापत महिलालाई दुई पोका नुन उपहार दिने गरेको बताउँहुन्छ, उपाध्यक्ष होइजाकुमारी बुढा ।
जाजरकोटको बारेकोट गाउँपालिकाले ६० देखि ७० वर्षसम्मका जेष्ठ नागरिकलाई औषधि उपचार खर्च र सुत्केरी भत्ता दिने गरेको छ । गाउँपालिकाले आफ्नै लगानीमा एक जना डाक्टर समेत पढाइरहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।
यस्तै कर्णालीका केही स्थानीय तहले कृषि र पशुपालनमा जोड दिएका छन् । आफूहरुले किसानको भैसी ब्याएमा २ हजार ५ सय रुपैँया भत्ता दिएर नयाँ काम थालेको सल्यानको कुमाख गाउँपालिकाका अध्यक्ष दिलकुमारी बुढा मगरले बताउनुभएको छ ।
पाँच बर्षको कार्यअवधि पाएर निर्वाचित भएका जनप्रतिनिधिहरुले दुई वर्ष बिताएका छन् । अब बाँकी तिन वर्षको समयमा आफुले निर्वाचनताका गरेका प्रतिवद्धताहरु पुरा गर्न धेरै चूनौति छन् । तर पनि जनता प्रति इमान्दार भएर काम गर्न सके स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्नका लागि तीन बर्षको समयाअवधि प्रयाप्त हुनेछ ।
सुन्नुहोस् अडियो रिपोर्टः