मालपोत सुर्खेतमा अख्तियारको स्ट्रिङ् अप्रेशन, दुई लाख घुससहित दुई जना पक्राउ

सुर्खेत, २७ चैत (जागरण) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । मंगलबार (आज) अख्तियारले गरेको ‘स्ट्रिङ्’ अप्रेशनका क्रममा मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस रकम मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार जग्गाको मोहानी हक छुट्याउने क्रममा सेवाग्राहीबाट उनीहरूले घुस रकम मागेका थिए । पक्राउ परेका दुवै जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।