नेपालका ७७ जिल्लाबाट एकैसाथ पुगेकाले भने, ‘गुराँसे त साँच्चिकैको गुराँसे नै रैछ’

सुर्खेत, ५ फागुन (जागरण) । ‘गुराँसे त साँच्चिकैको गुराँसे नै रैछ । रानिमत्ता…रानिमत्ता, चिसो चिसो हावा बहँदो रैछ । गुराँसे त…’
कुनै बेला चलेको एक चर्चित गीत (पोखरा त साँच्चिकैको पोखरा नै रैछ) कै लयमा गुराँसेको गुणगान सहित बखान् हो यो । यो बखान् गुराँस घुमेर फर्किएकाहरुले गरेको बखान् हो ।
नेपालका ७७ वटै जिल्लाबाट दैलेखको गुराँस गाउँपालिका घुम्न पुगेका उनिहरुले फर्किने क्रममा यो गीत गाउँदै गाडिको यात्रा गरेका छन् । नेपालभरका सवै जिल्लाबाट एकै साथ तीन सयभन्दा बढी मानिस गुराँस घुमेर फर्किएका छन् ।
यही फागुन २ गते नेपालभरीका ७७ वटै जिल्लाबाट गुराँस पुगेका उनिहरुले गुराँस गाउँपालिकामा पर्यटकिय सम्भावना र विकासको अवस्थाबारे अध्ययन गरेका छन् ।
उनीहरुले गुराँस गाउँपालिकाको केन्द्र रानिमत्तामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँसभा सदस्यलगायत जनप्रतिनिधिसँग छलफलसमेत गरेका छन् ।

पाहुनालाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष ओली ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) १४ औँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको अवसरमा सुर्खेतमा भेला भएका ७७ वटै जिल्लाका रेडियोकर्मी गुराँस पुगेका हुन् ।
नेपालभरीका सामुदायिक रेडियोकर्मीले गुराँस गाउँपालिकामा पुगेपछि साँच्चिकै पवित्र भुमिमा पुगेको आफूहरुले अनुभूति गरेको बताएका छन् ।
उनिहरुले अव गुराँस गाउँपालिकाको विकासका लागि पर्यटन नै प्रमुख माध्यम रहेको बताए । भक्तपुरबाट गुराँस पुग्नुभएका सुरेश सैँजुले गुराँस गाउँपालिका पर्यटन विकासको सम्भावना नै सम्भावना बोकेको गाउँपालिका रहेको जागरणलाई बताउनुभयो ।
अकोरावका केन्द्रिय अध्यक्ष सुवास खतिवडा तथा पदाधिकारी र प्रतिनिधिहरु, गाउँपालिका महास‌ंघ कर्णाली प्रदेशका संस्थापक अध्यक्ष तथा सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र कुमार केसी, कर्णाली प्रदेश समिति अध्यक्ष रमेश गौतम तथा पदाधिकारी र प्रतिनिधिहरु, इक्वेल एक्सिसका कार्यकारी निर्देशक उपेन्द्र अर्याल र एन्टेना फाउण्डेसन नेपालका कार्यकारी निर्देशक विनय गुरागाइँले पनि गाउँपालिकाको अध्ययन गर्नुभएको छ ।
एकै साथ घुम्न पुगेका उनिहरुलाई गाउँपालिकाका अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपाकुमारी विसीले संयुक्त रुपमा गुराँसकै फूल दिएर स्वागत गर्नुभएको छ ।
स्वागत गर्दै अध्यक्ष ओलीले गुराँस गाउँपालिकामा घुम्नका लागि सवै नेपाली समक्ष सामुदायिक रेडियोहरुमार्फत् निम्ता गरिदिन अनुरोध गर्नुभयो ।

गुराँसबाट देखिने हिमाल ।

गुराँस गाउँपालिकाबाट सिस्ने, अपि, शैपाललगायतका हिमश्रृङ्खलाहरु सहजै हेर्न सकिन्छ भने फागुन पहिलो हप्तादेखि वैशाख अन्तिम सम्म लालीगुराँससँगै रमाउन पनि सकिन्छ । गुराँस गाउँपालिकाका विभिन्न वडाहरुमा रहेका गुफा, चुचुरा, मन्दिर लगायतका विषयमा समेत गाउँपालिकाले पाहुनालाई जानकारी गराएको छ । गाउँपालिकाका उपाध्यक्ष विसीले गाउँपालिकाको पर्यटन विकासका लागि आफूहरुले त्यहीअनुसारको निती तय गरेको बताउनुभएको छ ।