सुर्खेत, ६ फागुन (जागरण) । तीन महिनाको अवधिभित्र सुर्खेतको सिम्ता गाउँपालिकाका ४२ जना व्यवसायिक सीपयुक्त बन्ने भएका छन् । सिम्ताका १५ जना महिला र २७ जना पुरुष व्यवसायिक सीपयुक्त बन्ने भएका हुन् ।
जसमध्ये महिलाहरुले तीन महिने ढाँका बुनाई तालिम र २७ जना पुरुषले दुई महिने हाउस वायरिङ्ग तालिम प्राप्त गर्नेछन् । एकै साथ शुरु भएका तालिमको आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

‘जनतासंग सिम्ता गाउँपालिका’ कार्यक्रमलाई सफल बनाउन महिला सञ्जाल सिम्ताकाे सहजिकरण तथा सिम्ता गाउँपालिका र घरेलुु तथा साना उद्योग विकास समिति सुर्खेतको संयुक्त आयोजनामा तालिम शुरु भएको हो ।
दुइवटै तालिमकाे उद्घाटनमा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाहीसहित घरेलु तथा साना उद्योग विकास समितिका चित्रा डाङ्गी, माधव प्रसाद न्यौपानेलगायतको उपस्थिति थियो ।
गाउँपालिकाका अध्यक्ष केसीले गरिवी न्यूनीकरण गरी आयआर्जनमा वृद्धि र युवालाई उद्यमशील बनाएर राेजगारी सिर्जना गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार ‘सिम्ता उज्यालो’ कार्यक्रमअन्तर्गत विद्युतिकरणमा सहयोग पुग्ने भएकाले हाउस वायरिङ तालिमसमेत गराइएको हो ।