कर्णालीमा महिला र बालबालिका माथि हुने हिंसा बढ्दै

सुर्खेत, ७ फागुन (जागरण) । कर्णाली प्रदेशमा महिला र बालबालिका माथि हुने हिंसा बढ्दै गएको पाइएको छ । एक बर्षको अबधिमा मानब अधिकार उल्ङ्घन् र ज्याददीका घटनामा सबै भन्दा बढी महिला र बालबालिका पीडित रहेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) ले आज सार्बजनिक गरेको वर्ष पुस्तकमा उल्लेख गरिएको तथ्यांकका अनुसार प्रदेश भरी वर्ष २०१८ मा ५ सय २ जना पीडित भएका छन् ।
त्यस मध्ये पूरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाहरुको संख्या ३ सय ५४ रहेको छ । वर्ष २०१७ मा ३ सय १२ महिलामा मानव अधिकारको उल्ङ्घन् घटना र ज्याददी भएको थियो ।
महिला तथा बालबालिका माथि कुटपिट, बलात्कार, जातीय विभेद, हत्या, जस्ता घटना बढीरहेको इन्सेकले सार्वजनिक गरेको तथ्याङ्गमा उल्लेख छ ।


अन्य प्रदेशको तुलनामा मावन अधिकारका घटना कम भएपनि महिला र बालबालिको घटना बढेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा सभामुख राजबहादुर शाहीले वर्ष पुस्तकको बिमोचन गर्दै अन्य प्रदेश भन्दा कर्णाली प्रदेशमा मानव अधिकार उल्घनन्का घटनाको तथ्याङ्क हेर्दा सन्तोषजक भएपनि बालबालिका र महिलाहरु माथि हुने घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले मानव अधिकार उल्लङ्घनका घटना न्युनिकरण गर्न राज्य पक्ष र गैर राज्य पक्ष सबैले अभियानका रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले संविधान कार्यान्वयन गरे मात्र मानव अधिकारको संरक्षण गर्न सकिने बताउनुभयो ।