कर्णाली महोत्सवमा दर्शकको चाप बढ्दै, अहिले सम्मकै बढी व्यापारिक स्टल

सुर्खेत, ८ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी ‘कर्णाली महोत्सव २०७५’ मा दर्शकको चाप दिनानुदिन बढिरहेको छ । सुर्खेत चेम्वर अफ कमर्सको आयोजनामा फागुन ११ गते सम्मका लागि सञ्चालन गरिएको महोत्सवमा दिनानुदिन चाप बढिरहेको हो ।
अहिले प्रतिदिन कम्तिमा ७ हजारभन्दा बढी दर्शकहरु महोत्सवभित्र टिकट काटेर पुग्ने गरेका महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवका प्रचारप्रसार संयोजक एवम् सुर्खेत चेम्वर अफ कमर्सका सचिव विजय भण्डारीकाअनुसार महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता छ ।
यस्तै महोत्सवमा अहिलेसम्मकै बढी ५ सय ८० वटा व्यापारिक स्टलहरु रहेका छन् । स्टलको माग अहिले सम्मसमेत भइरहेको भण्डारीले बताउनुभयो ।
मेलामा कृषि, लघु घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु, पर्यटकिय स्थलहरुको जानकारीमूलक स्टलका साथै अन्य व्यवसायिक स्टल रहेका छन् ।
‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानिहरुको उत्सव’ नाराका साथ सञ्चालन भएको महोत्सवले कर्णालीको व्यवसाय, पर्यटन तथा कला संस्कृतिको प्रवद्र्धन हुनेमा आफूहरुले विश्वास गरेको मूल आयोजक समितिका संयोजक चिन्तामणी शर्माले जानकारी दिनुभयो ।
महोत्सवमा चर्चित कलाकारहरुले दैनिक रुपमा प्रस्तुती प्रदर्शन गर्नुका साथै राष्ट्रव्यापी लोक तथा दोहोरी गीत प्रतियोगिताले अझै रौनकता थपेको छ ।