मुना हमाल ।
सुर्खेत, १० फागुन (जागरण) । प्रविधिको विकास र भौत्तिक पूर्वाधारको पहुँचसँगै सहरीकरण बढ्दैछ । भौत्तिक सुविधाको विस्तारसँगै मानिसहरु सहरतर्फ केन्द्रित भएका छन् । शहरिया कोलाहल, दैनिक व्यस्तता र खानपानका कारण मानिसमा नयाँ रुचि र आकाक्षाहरु पनि पैदा हुन थालेका छन् । जसका कारण मानिसहरुमा शहर भन्दा टाढा एकान्तमा रमाउँदै गाउँले खाना खाने शोख बढ्दो छ । वीरेन्द्रनगर नगपालिकाको वडा नम्बर १३ स्थित आफँर गाउँमा रहेको होमस्टेमा हिजोआज मानिसहरुको आवातजावत बढेको छ । यस्तै स्थानीयलाई राम्रो आम्दानी समेत हुन थालेको छ ।
होमस्टेमा पारिवारिक वातावरण हुन्छ । त्यहाँ पुग्ने जो कोहीले स्थानीय उत्पादन सिस्नो, आटो, ढेडो, लोकल कुखुरालगायतका परिकार खान पाउँछन् । पर्यटकहरु आउन थालेपछि स्थानीयले १० वटा घरमा होमस्टे संचालन गरेका छन् । अहिले होमस्टेबाट स्थानीयले राम्रो आम्दानी गरिरहेका छन् । आफ्नै घरमा होम स्टे संचालन गरेर मासिक १० हजारसम्म आम्दानी गरेको बताउँनुहुन्छ, आँफर गाउँकी लक्ष्मी बाँठा ।
होेमस्टेमा अर्गानिक खानालाई जोड दिइएको छ । स्थानीयले स्थानीय उत्पादनमा जोड दिएका छन । होम स्टे संचालनका लागि आवश्यक सामन स्थानीय उत्पादन नै हुन्छन् । गाउँले जीवनको अनुभुति दिलाउने भएकाले पनि पर्यटकहरु आर्कषित हुन थालेका छन् ।
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको सहजिकरणमा विगत दुई वर्षदेखि होमस्टे संचालन गर्न थालेपछि गाउँमा चलहपहल पनि बढेको छ । अहिले विभिन्न व्यक्तिहरु, संघसंस्थाहरु होमस्टेमा जाने गर्दछन् । संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रम तथा तालिमहरु होमस्टेमा संचालन हुने गर्छन् । गाउँमा मदिरा, जुवातास निशेषधित गरिएको छ । गाउँलाई नमुना गाउँ निर्माणमा स्थानीय जुटेका छन् । आर्थिक संगै सामाजिक परिवर्तन हुन थालेको बताउँहुन्छ, होमस्टे संचालन समितिका सचिव समेत रहनु भएकी स्थानीय रचना बाँठा ।
यो गाउँमा करिब ६० घरधुरी छन् । हाल १० वटा घरमा मात्र सुरु गरिएको होम स्टेलाई आगामी दिनमा विस्तार गर्ने स्थानीयको योजना रहेको होमस्टे सञ्चालन समितिका अध्यक्ष डिलबहादुर बिक बताउनुहुन्छ ।
होमस्टे मानिसका लागि गाउँले जीवन अनुभुति गराउने गतिल्लो माध्यम बन्न थालेको छ । शहरिया वातावरणमा व्यस्त रहेको अवस्थामा होमस्टेले मनोरञ्जनसंगै अर्गानिक खानाको स्वाद समेत चखाउने गरेका छन् । यस कारण स्थानीयको आम्दानी र रोजगारको गतिल्लो स्रोत होमस्टेलाई थप व्यवस्थित गर्न स्थानीय सरकारले अनुदान र क्षमता विकास गर्न जरुरी छ ।
सुन्नुहोस् अडियो रिपोर्टः