विद्यालयको उत्सवमा नेताका वचनवाणः ‘रोजगारीदेखि पूर्वाधार विकास सम्म’

टेकराज केसी ।
दैलेख, १० फागुन (जागरण) । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सवमा पुगेका अभिभावक तथा विद्यार्थीहरुले नेताहरुका वचनवाण सुनेर फर्किएका छन् ।
कार्यक्रममा उपस्थित प्रतिनिधिसभा तथा प्रदेश साँसदका साथै गाउँपालिकाका अध्यक्षहरुले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् । उनिहरुले विद्यालय र शिक्षाका लागि गरेका काममात्रै होइन अन्य विषयवस्तु बारे जोडबलले प्रस्तुत गरे ।
कार्यक्रममा दैलेख निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले नयाँ अभ्यासका कारण विकासमा अलमल भएको बताउनुभएको छ ।
अहिलेको नयाँ व्यवस्थाअनुसार संघिय मोडेलमा चलेका तिनवटै सरकारहरु अलमलिएको भन्दै अव फागुन महिनाभर सबै कानुनहरु निर्माण भइसक्ने र विकासको गति अगाडी बढ्ने उहाँले बताउनुभयो ।
अव उत्पादनमा जोड दिनुपर्ने भन्दै उहाँले वेरोजगारी र गरिवीको अन्त्य गर्ने उहाँको भनाई छ । अव कोही पनि व्यक्ती शिक्षा, स्वास्थ्य र बेरोजगार भएर बस्नु नपर्ने भन्दै उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले गुराँस गाउँपालिका प्रदेशको राजधानी नजिक रहेकाले उत्पादित वस्तुको बजारीकरणमा कुनै समस्या नरहेको बताउनुभयो ।
उनले गुराँस गाउँपालिकाले शुरु गरेको गौरव मार्गलाई पुरा गर्न सहयोग गर्ने भन्दै डुङ्गेश्वर धरमपोखरा सडकखण्ड चाडै पुरा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

शिक्षालाई व्यवहारिक बनाऔँः सांसद् थापा

कार्यक्रममा प्रदेश सांसद अम्मर बहादुर थापाले विद्यालयहरुलाई हेर्नलाई राम्रो बनाएर मात्र शिक्षाको गुणस्तर कायम नहुने भन्दै शिक्षालाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभयो ।
शिक्षामा अगाडी बढ्न नसकिए कुनैपनि क्षेत्रमा अगाडी बढ्न नसकिने भन्दै शिक्षालाई गुणस्तरिय बनाउन सके समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभयो ।
अव विकासलाई तिव्र गतिमा अगाडी लिनको लागि कृषि क्षेत्रको उत्पादनमा जोड दिनु पर्ने भन्दै तिनवटै सरकारले मास्टर पलान बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
गुराँस गाउँपालिकाले पनि सबैभन्दा धेरै कृषि क्षेत्रलाई महत्व दिन आग्रह गर्दै त्यसको लागि स्थानीय, प्रदेश र संघिय सरकारले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
देश बलियो हुनलाई किसानहरु बलियो हुनुपर्नेमा जोड दिदै किसानहरुले मेहेनत गर्नुपर्ने र त्यसमा सरकारले सहयोग गर्ने बताउनुभयो । गुराँस गाउँपालिकाको केन्द्र सबै जनताको केन्द्रमा तोकेको भन्दै गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई उहाँले धन्यवाद समेत दिनुभयो ।

संस्कार राम्रो सिकाउनुपर्‍योः रखाल

सांसद मिनासिंह रखालले शिक्षाको पहिलो शुरुवात घरबाट हुने भएकाले घरपरिवारमा बालबालिकालाई राम्रो संस्कार दिन आग्रह गर्नुभयो ।
उहाँले विशेषगरी महिलाहरु शिक्षित हुनुपर्ने भन्दै शिक्षामा पछाडी परेका महिलाहरुलाई साक्षर बनाउन सके मात्र शिक्षाको गुणस्तर कायम हुने बताउनुभयो ।
उहाँले आर्थिक विकासका लागि कृषिमा आत्मनिर्भर हुन आवश्यक रहेको भन्दै त्यसको लागि तिनवटै सरकारले पहल लिएको बताउनुभयो ।
उहाँले अब कोही पनि व्यक्ती वेरोजगार बस्नुनपर्ने भन्दै त्यसको शुरुवात भइसकेको बताइन् ।

शैक्षिक गुणस्तरका लागि शुरुवात भइसक्योः अध्यक्ष ओली

दैलेख गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले शैक्षिक गुणस्तर कायम गर्नको लागि गत वर्षदेखि नै अभियान संचालन गरिएको बताउनुभयो ।
उहाँले गाउँपालिकाभर दरबन्दी मिलान् विद्यार्थीको आधारमा कक्षा संचालन गर्ने काम भइसकेको भन्दै केहि विद्यालयमा विद्युतिय हाँजिरीको समेत व्यवस्था गरिएको बताउनुभयो ।
ओलीले यतीले मात्र नपुग्ने भन्दै गुणस्तरिय शिक्षाको लागि महाअभियान नै संचालन गर्न लागिएको र यसको लागि प्रदेश तथा केन्द्र सरकारले पनि सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले विकासको चरण अगाडी बढि सकेको भन्दै गुराँस गाउँपालिकाभरका जनता अवको ३ बर्षभित्र अध्यारोमा बस्नुपर्ने बाध्यता हट्ने बताउनुभयो ।
सबै टोलटोलमा ८० प्रतिशत सडक सञ्जाल पुगिसकेको भन्दै अब गुराँसलाई विद्युतिकरण गर्न लागि परेको बताउनुभयो ।
त्यसको लागि गाउँपालिकाले केहि दिनमा नै प्रस्तावना पेश गर्न लागि परेको बताउनुभयो । उहाँले अहिले जनतामा निरासा मात्र छाएको भन्दै तिनवटै सरकारले जनतामा आशा आउने खालका काम गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका ६ का वडा अध्यक्ष हिम बहादुर ओलीले शिक्षाको सुधारका लागि दरबन्दी मिलानको काम अझै गर्न आवश्यक रहेको बताउनुभयो ।