दैलेखको गुराँसमा तामाखानीको सम्भावना

टेकराज के. सी. ।
दैलेख, १० फागुन (जागरण) । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ३ को पातिकाँल्नामा तामाखानीको सम्भावना रहेको भन्दै स्थानिय नागरिकले अनुसन्धान गर्न आग्रह गरेका छन् ।
पातिकाल्नामा रहेको सरस्वती माध्यमिक विद्यालय नजिक खाल्डो खन्ने क्रममा १ किलो भन्दा धेरैको परिमाणमा तामा मिसिएको सामग्री भेटिएको हो । खानी भएको वा नभएको अनुसन्धान गर्न सके त्यस ठाउँमा तामा खानी हुन सक्ने अनुमान स्थानीय नागरिकले गरेका छन् ।

खाल्डो खन्दा भेटिएको तामासहितको डल्लो ।

पातिकाँल्ना पुगेका गाउँपालिकाका अध्यक्ष खेमराज ओलीलाई स्थानिय नागरिकले यसको अध्ययन अन्वेसन गर्न माग गरेका छन् । उनिहरुको अनुसार त्यस क्षेत्रमा तामा खानी हुनसक्ने अनुमान पहिलेदेखि गरिएको थियो ।
यस क्षेत्रमा तामा खानी छ कि छैन ? भन्ने विषयमा खानी तथा भुगर्भ विभागले अध्ययन गर्न आवश्यक रहेको स्थानीय नागरिक निराजन खत्रीले बताउनुभयो ।
वडा नम्बर ३ का अध्यक्ष गंगाराम खत्रीले त्यहाँ तामा खानीको सम्भावना रहेकाले अध्ययनका लागि गाउँपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।