स्थानिय सरकारः ‘बैँकहरु अझै गाउँ नपुग्दा चुनौति’

स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले  कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । जागरणकर्मी चाँदनी कठायतले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर शाहीसँग कुराकानी गर्नुभएको छ ।

प्रस्तोताः तपाईँले गर्नुभएको मुख्य तीन काम के के हुन् ?
पाहुनाः पहिलो कुरा त गाउँपालिकाको नीति तथा कार्यक्रमार्फत् गाउँपालिकाका विकासे योजनाहरुलाई अगाडि बढाइएको छ । दोस्रो कुरा विशेषगरी सडक निर्माण तथा भौतिक पूर्वाधार निर्माणका कामहरु टेन्डर आव्हान गरेर निर्माण अघि बढाएका छौँ । तेस्रो कुरा हामीले शिक्षकहरुको विद्यालयमा नियमीतताका लागि स्पष्ट नीति बनाएर अनुगमनलाई पनि तिव्र बनाएका छौँ ।

प्रस्तोताः अव तपाईका आगामी योजना बताउनुस् न
पाहुनाः अवको पहिलो प्राथमिकता संविधानले दिएको अधिकार प्रयोग गर्दै विभीन्न विषयगत रुपमा कानून, ऐन, निर्देशिका तथा आचारसंहिता बनाएर विकासका काम अघि बढाइन्छ । अझ महत्वपूर्ण योजना त के हो भने हाम्रो गाउँपालिकाका सवै वडामा सडक सञ्जालले राम्रोसँग छोएको छैन । सवै महिनामा सवारी चल्न सक्नेगरी प्रत्येक वडामा सडक सञ्जाल विकास गरिनेछ । अनि दोस्रोमा शैक्षिक गुणस्तर सुधारका लागि कार्य गरिनेछ । तेस्रोमा सवै जनतालाई सहज स्वास्थ्य सुविधा पु¥याइनेछ ।

प्रस्तोताः आगामी चार वर्षपछि तपाईको कार्यकाल सकिन्छ, त्यसबेला अहिलेभन्दा तपाईको गाउँपालिकामा जनताले के परिवर्तनको महसुस गर्नेछन् ?
पाहुनाः परिवर्तन केही भइरहेको छ । केही हुँदैछन् पनि । अव खास परिवर्तन यस्तो आउँछ भनेर अहिले नै भन्ने कुरा होइन । म यत्ति भन्छु कि परिवर्तन आउँछ ।

प्रस्तोताः चुनौतिहरु के के छन् नि ?
पाहुनाः आर्थिक रुपमा सवल भइनसकेको अवस्था भएकाले केही केही चुनौति छन् । वैँकहरु सदरमुकाममा मात्रै केन्द्रित भएका छन् जसले गर्दा हामीलाई आर्थिक कारोबारका लागि चुनौति थपेको छ । यस्तै प्रदेशसभाले केही कानूनी तथा नीतिगत कुराहरु नटुँग्याउँदा हामीहरुलाई काम गर्न चुनौति थपिएका छन् ।