सुर्खेत, १३ फागुन (जागरण) । रोजगारीका लागि भारत छिरेका कर्णाली प्रदेशका युवाहरु गाउँ फर्किन थालेका छन् । मुग्लान पसेकाहरू धमाधम फिर्ता हुन थालेपछि सुनसान रहेका कर्णालीका ग्रामीण बस्ती भरिभराउ हुन थालेका हुन् ।
कर्णालीका जुम्ला, कालिकोट, जाजरकोट, दैलेख लगायतका जिल्लाबाट मुग्लान पसेका युवाहरु गाउँ फर्किन थालेका छन् । दसैं मनाएर अधिकांश बासिन्दा रोजगारीका लागि भारत पस्ने गरेका छन् ।
फागुन लागेसँगै गाउँतिर विकासे काम र कृषिको सिजन सुरु भएको छ । यसकारण पनि उनीहरू गाउँ फर्किन थालेको जुम्ला तातोपानीका युवा छत्तबहादुर परियारले सुनाउनुभयो ।
स्थानीय सरकार आए पनि युवा लक्षित कुनै कार्यक्रम नल्याइएकाले बेरोजगार रहेका युवाहरु कालापहाड धाउनुपर्ने बाध्यता कायमै छ ।