राष्ट्रिय शोकः आज सार्वजनिक विदा

काठमाण्डौँ, १६ फागुन (जागरण) । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।
मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ । अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा आज हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन कुमार घिमिरे र हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।