मुगु, २ वैशाख (जागरण) । कर्णाली–रारा पर्यटन वर्ष २०७५ को पहिलो दिन मात्रै १५ हजारभन्दा बढी पर्यटक रारा पुगेका छन् ।
कर्णाली प्रदेश सरकारले आन्तरिक तथा बाह्य गरी करिव १५ हजारभन्दा धेरै पर्यटक रारा पुगेका अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले २०७५ सालको पहिलो दिन नै कर्णाली–रारा पर्यटन वर्ष २०७५ को मुगुमा एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा उहाँले रारा एक पटक जार्नै पर्ने ठाउँ भएको बताउनुभयो । केन्द्र सरकारले आवश्यक सहयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले विकासको योजना ल्याउन आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश जडिबुटीको प्रदेश भएको भन्दै उहाँले अर्गानिक प्रदेशका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सुर्खेतबाट सबै जिल्लामा हवाई सेवा सञ्चालनका लागि काम गर्ने, कर्णाली करिडोर बनाउने र हुम्लालाई छिट्टै मोटरबाटोले जोड्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेन्डोलाई पर्यटकीय ‘सर्किट’मा जोडिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्ष्भित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो ।