दर्जनौँ कलाकारहरुका ‘गुरु’ गंगाबहादुर के.सी. (अडियो सहित)

मुना हमाल 
सुर्खेत, १७ फागुन (जागरण) । ‘घर कहाँ हो परदेशी, जिल्ला सुर्खेत, गाउँ जर्बुटा’
कुनै बेला सुर्खेतलाई चिनाउन यही गीत गाउनुभएका सुर्खेतका वरिष्ठ कलाकार एवं संगीतकार गंगाबहादुर केसी अहिले पनि कलाक्षेत्रमै समर्पित हुनुहुन्छ । के.सी. का गीत सुनेकाहरु जो कोहिले पनि त्यसबेलाको जोश जाँगर अहिले पनि उहाँमा देख्न सक्छ । सुर्खेतमा कला साहित्यको आफ्नै इतिहास छ । यो इतिहास निर्माण गर्न धेरै व्यक्तिहरुले महत्वपूर्ण योगदान दिएका छन् । त्यस मध्य पनि यहाँको लो कला र संगितको क्षेत्रमा गंगाबहादुर केसीको नाम अग्र स्थानमा छ ।
कला क्षेत्रलाई कर्म क्षेत्र बनाउदै र कलाको संरक्षणमा लाग्नुभएका केसी नयाँ पुस्ताका लागि मार्गदर्शक पनि हुनुहुन्छ । उमेरले ६५ बर्षमा लाग्नुभएका केसी आज पनि संगीत साधनामा तल्लिन देखिनुहुन्छ ।
वि. सं. २०१० सालमा कात्तिक १४ गते हाल वीरेन्द्रनगर नगरपालिका बनिसकेको तत्कालिन जुर्वटामा जन्मिनु भएका के. सी. को परिवारमा सांगीतिक माहोल भएका कारण पनि बाल्यकालदेखि नै गीत संगीत प्रति उहाँको रुचि बढ्यो ।
परिवारमा हजुरबुबा, बुबाले भजनकृतन गाइरहने हुँदा पनि गीतसंगीत सिक्न सजिलो भयो । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा उहाँको सहभागिता हुन्थ्यो ।
गीत मात्र गाउने होइन, लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो के. सी. । उहाँले लेखेका गीत मायाप्रेमका देखि राष्ट्रियभावले ओतप्रोत पनि छन् ।
बाटोमा हिड्दै गर्दा कसैका दुुुःख सुख देख्नासाथ त्यो के. सी. को गीतका शब्द बनिहाल्थे । महिलाका पीडा हुन अथवा आफ्नो ठाउँ छोड्नुको पीडाका गित शब्द बन्छन् ।
धेरै गीत लेखे पनि उहाँले रेकर्ड गरेर आफुले लोकप्रियता कमाउने कुनै चाहना राख्नुभएन । उहाँले हालसम्म पाँच वटा गीत रेडियो नेपालमा रेकर्ड गर्नुभएको छ ।
उहाँले केही गीतमा संगित पनि भर्नुभएको छ । केन्द्रमा नै गएर कलाकारिता अघि बढाउँछु भनेर के. सी. काठमाण्ठौँ नजानुभएको भने होइन ।
वि.सं. २०३३ सालतिर कामाण्डौँ पुग्नुभयो । तर त्यहाँ सहज वातावरण पाउनु भएन । त्यस पछि उहाँ सुर्खेतमै फर्किनुभयो र शिक्षण पेशा संगै कलाकारिता अघि बढाउनुभयो ।
उहाँ कलाकार मात्र होइन कलाकारका गुरु हुनुहुन्छ । उहाँका चेलाचेलीहरु राष्ट्रिय स्तरमा चर्चामा छन् । यसले पनि उहाँलाई सन्तुष्टि प्रदान गर्दछ । अबका गीतमा प्रगतिशिल, मौलिकतामा लेख्नुपर्ने उहाँको सुझाव छ । तर कलाकारितालाई राज्यले संरक्षण गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
अडियो सुन्नुहोस्ः