हस्तवीरमा शैक्षिक महोत्सव

सुर्खेत, १७ फागुन (जागरण) । विद्यालय प्राङ्गणभित्र चारवटा स्टल, स्टलभित्र कतै कागजबाट बनाइएका सामग्री, कतै काठबाट बनेका वस्तु । परम्परागत सामग्रीदेखि नयाँ आधुनिक युग सम्मका बस्तुहरु पनि ।
स्टलभित्रका त्यस्ता सामानबारे साना साना नानिबाबुहरुले मज्जाले जानकारी दिइरहेका छन् । यो वातावरण हो, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १२ चनौटेस्थित हस्तवीर सामुदायिक आधारभूत विद्यालयको ।
बालबालिकाले दिइरहेको जानकारी ध्यान दिएर वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, वडानम्वर १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौड्याल, शिक्षक तथा अन्य विद्यालयबाट हस्तवीर पुगेका विद्यार्थीहरुले सुनिरहेका छन् ।
गुणस्तरिय र प्रभावकारी शिक्षणका लागि हस्तवीर सामुदायिक आधारभूत विद्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा विद्यार्थी, शिक्षक र अभिभावक मिलेर शैक्षिक सामग्रीको प्रदर्शनी गरेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रम अन्तर्गत हस्तवीरमा शैक्षिक सामग्री प्रदर्शन तथा पढाई महोत्सव भएको हो ।
कितावमा मात्रै पढ्नु भन्दा पढेका कुरालाई व्यवहारमै लागू हुनेगरी सिकाउनका लागि महोत्सव आयोजना भएको हस्तवीर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौड्यालले बताउनुभयो । महोत्सवमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख ढकालले अव नयाँ पुस्ताले ढिकी, जाँतो, कोल, ठेकी जस्ता वस्तु भुल्न थालिसकेकाले महोत्सवले शिक्षण सिकाईमा ठूलो योगदान गरेको बताउनुभयो ।
विद्यार्थी, शिक्षक र अभिभावकले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शन गरिएको महोत्सवमा हस्तवीरका छिमेकी अरु विद्यालयबाट विद्यार्थीसमेत अवलोकनका लागि पुगेका छन् । यस्तै वीरेन्द्रनग १२ का वडाअध्यक्ष चालिसेले आफ्नो वडामा रहेको हस्तवीर विद्यालयले नमूना कार्य गरेको बताउनुभयो ।
महोत्सवमा नेपाली र अंग्रेजी भाषा, विज्ञान, सामाजिक तथा गणित विषयका छुट्टाछुट्टै स्टलहरु रहेका छन् । स्टलमा विद्यार्थीहरुले त्यहाँ रहेका सामग्रीहरु र ती सामग्री शिक्षण सिकाई क्रियाकलापसँग जोडेर प्रस्तुत गरिरहेका विद्यालयका प्रधानाध्यापक धनबहादुर ढेंगामगरले जानकारी दिनुभयो । यसैैबीच, वरिष्ठ इन्जिनियर जनकबहादुर शाहीले हस्तवीरमा ५०५०५ को अक्षयकोष तथा एक जना गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नुुभएको छ ।