घरको छानामा हरियो झण्डा, परिवारले गरे यस्तो प्रतिवद्धता

सुर्खेत, १७ फागुन (जागरण) । कुनै घरमा हरियो झण्डा फर्फराइरहेको देख्नुभयो ? अनि त्यही घरको भित्ता हेर्नुहोस् त, भित्तामा पोषण सम्वन्धि सन्देश पनि देख्नुभयो होला । अव सम्झिनुहोस् त्यो घरमा महिला गर्भवति अवस्थामा छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर २ का गर्भवति महिलाको घरमा एउटा हरियो झण्डा र पोषण सम्वन्धि सन्देश टाँसिएका छन् ।

हरियो झण्डा टाँग्दै स्थानिय नागरिक ।

सुआहारा कार्यक्रम अन्तर्गत समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा वडास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले गर्भवति महिलाको घरमा हरियो झण्डासहित पोषण सन्देशको फ्लेक्स टाँसेको हो ।
वडानम्वर २ मा ८४ घर परिवारमा गर्भवति महिला रहेका र ती घरहरुमा आजदेखि झण्डा टाँस्न सुरु गरिएको स्याक नेपालअन्तर्गत सुआहारा कार्यक्रम संयोजक रेशम चन्दले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले झण्डा टाँस्ने कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
अहिलेको गर्भमा रहेको बच्चा एउटा युगका लागि जन्मिन लागेकाले ‘एउटा गर्भ सुरक्षित–एउटा युग सुरक्षित’ भन्ने नाराका साथ झण्डा टाँसिएको छ ।

पोषणका सन्देश घरमा टाँस्दै ।

त्यतिमात्रै होइन, गर्भवति महिलालाई पोषणमा कुनै कमी हुन नदिन परिवारका सदस्यहरुलाई अनिवार्य रुपमा प्रतिवद्ध गराइएको छ । प्रतिवद्धता पत्रमा गर्भवति महिलाका श्रीमान, सासु र ससुराले हस्ताक्षर गरेका छन् ।
अव झण्डासहित घरमा टाँसिएको पोषणको सन्देश अनुसार गर्भवति महिलालाई पोषणयुक्त खानेकुरा खान दिइएको वा नदिइएको बारे हेरचाह, परामर्श र अनुगमन गरिने सुआहाराले जनाएको छ ।
यसैबीच, सुआहाराले सुर्खेत जिल्लाभर गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्कलाई जिल्लास्तरिय सरोकारवालाबीच प्रस्तुतिकरण गरिएको छ ।