‘डिजिटल कर्णाली’ का लागि ‘क्यान इन्फोटेक’ हुँदै

सुर्खेत, १८ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुचना प्रविधि सम्वन्धि मेला लाग्ने भएको छ ।
कर्णाली प्रदेशलाई ‘डिजिटल’ बनाउने योजनालाई सहयोग पु¥याउने भन्दै फागुन २४ देखि २८ गते सम्म ‘क्यान इन्फोटेक २०१९’ हुने भएको हो ।
‘सुचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नाराका साथ कम्प्युटर एशोशियसन नेपाल (क्यान) महासंघ सुर्खेतले ‘इन्फोटेक’ गर्न लागेको हो ।
सुचना सञ्चार प्रविधिको वृहत प्रदर्शनी हुने ‘इन्फोटेक’ मा आइटी सेमिनार, नेपाली वैज्ञानिकहरुले निर्माण गरेको रोवर्ट लगायत विभिन्न आइटी सामग्रीको प्रदर्शनसमेत हुने आयोजकको भनाई छ ।
यस्तै ‘इन्फोटेक’ मा विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एक जनालाई ‘रारा भिजिट’ गराउनका साथै लक्की ‘ड्र’ बाटै हरेक दिन १० जनालाई एन्टिभाइरस निःशुल्क उपलव्ध गराइने क्यान महासंघ सुर्खेतले जनाएको छ ।
‘इन्फोटेक’ अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरिदमा पाँच देखि ५० प्रतिसतसम्म छुट दिइने र पव्जि गेम कम्पिटिसनसमेत हुने छ ।
‘इन्फोटेक’ वीरेन्द्रनगर नगरपालिका दक्षिणपट्टी रंगशाला आडमा सञ्चालन गर्ने तय भएको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेम प्रकाश चन्दले जानकारी दिनुभयो ।
यो ‘इन्फोटेक’ कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो । कर्णाली प्रदेशलाई भविश्यमा ‘डिजिटल’ प्रदेशको रुपमा विकसित गराउने योजनालाई यो ‘इन्फोटेक’ले सहयोग गर्ने क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्ण देव अधिकारीले बताउनुभएको छ ।