युवालाई व्यवसायिक स्वरोजगारतर्फ उन्मुख गराइदै

सुर्खेत, १८ फागुन (जागरण) । जिल्ला युवा समिति सुर्खेतले जिल्लाभरका ७० भन्दा बढी युवाहरुलाई प्रत्येक्ष रुपमा व्यवसायिक स्वरोजगारतर्फ उन्मुख गराएको छ ।
युवाहरुका समूहहरुलाई व्याज नलाग्नेगरी ऋण उपलव्ध गराउने तथा विभिन्न सीपमूलक तालिममार्फत् व्यवसायतर्फ युवाहरु उन्मुख भएका हुन् ।
वीरेन्द्रनगर नगरपालिका वडानम्वर ९ पातलगंगाका दिलमाया चौधरी, विमला चौधरी, लक्ष्मि चौधरी र रविन्द्र चोधरीले सिलाइकटाई तालिम लिएर सामूहिक रुपमा व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।
आधारभूत तहको १ सय ९० घण्टे तालिम लिएर पनि राम्रैसँग व्यवसाय चलिरहेको रविन्द्रले बताउनुभयो ।
उहाँले अव यही व्यवसायबाट दैनिकी चलाउने सम्म भएको बताउनुभयो । अझै माथिल्लो तहको सिलाइकटाई तालिम सिक्न पाए व्यवसाय फस्टाउन सक्ने दिलमाया चौधरीले बताउनुभएको छ ।
यस्तै गुर्भाकोट नगरपालिका मेहलकुनाकी नन्दा घर्तिले पनि सिलाइकटाई तालिमबाट सिकेर राम्रो व्यवसाय सञ्चालन गरिरहनुभएको छ । अहिले उहाँलाई व्यवसायबाट फुर्सद निकाल्नै मुस्किल हुने गरेको छ ।
जिल्ला युवा समिति सुर्खेतले सिलाईकटाईमा १० जना, इलेक्ट्रिसियनमा १० र मोवाइल मर्मतमा १० जनालाई तालिम दिएको थियो ।
साथै इलेक्ट्रिसियन र मोवाइल मर्मत तालिम लिएकाहरुलाई वस्तुगत सहयोगसमेत गरेको जिल्ला युवा समिति सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले जानकारी दिनुभएको छ । सिलाई कटाई सिकेकाहरुलाई पनि वस्तुगत सहयोग गर्न पहल भइरहेको उहाँले बताउनुभयो ।
सिम्ता गाउँपालिका वडानम्वर ७ झ्यामामा जनसन्देश युवा क्लवले जनसन्देश अदुवा तथा वेसार कार्यक्रम सञ्चालन गरी राम्रो उत्पादन गर्न सफल भएको छ ।
कार्यक्रमका लागि जिल्ला युवा समितिले पाँच लाख रुपैयाँ विना व्याज ऋण उपलव्ध गराएको थियो । जनसन्देश युवा क्लवका दुई जना सदस्यले व्यवसायिक कुखुरापालनसमेत गर्नुभएको छ ।
स्थानिय विऊ विजन उपयोग गरेर उत्पादन गरिएको अदुवा तथा वेसारका लागि बजारको अभाव नभएको अदुवा तथा वेसार कार्यक्रमका संयोजक गगन सिंह ठकुरीले बताउनुभयो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका वडानम्वर १३ को आँफरगाउँ होम–स्टेका लागि स्थानिय सहकारीमार्फत् पाँच लाख रुपैयाँ दिइँदैछ । अहिलेसम्म होम–स्टेले पहिलो किस्तावापत् दुई लाख ५० हजार रुपैयाँ लिएको छ । रकमबाट गतिलो सभाहल बनाइने होम–स्टेका सञ्चालन समितिका सचिव रचना बाँठाको भनाई छ ।
जिल्ला युवा समिति सुर्खेतकाअनुसार आर्थिक वर्ष २०७३÷०७४ मा चार वटा युवा समूहलाई पाँच–पाँच लाखका दरले २० लाख र आर्थिक वर्ष २०७४÷०७५ मा तीन वटा समूहका लागि १५ लाख रुपैयाँ विना व्याज रकम वितरण गरिएको छ ।