सुर्खेत, १९ फागुन (जागरण) । वैशाख १ गते गरिएको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन कार्यक्रममा भएको खर्चमा अनियमितता भएको पाइएको छ ।
कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिअन्तर्गत पर्यटन वर्षको उद्घाटन कार्यक्रममा प्रदेश सरकारले गरेको खर्चको अध्ययन गर्न गठित उपसमितिले खर्चमा अनियमितता भएको ठहर गरेको हो ।
पर्यटन वर्षको उद्घाटन कार्यक्रमका लागि प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरूलाई ४६ लाख रुपैयाँ खर्च गर्नेगरी अख्तियारी दिइएको थियो ।
तर मन्त्रालयहरूले लागत अनुमानबिनै सार्वजनिक खरिद ऐनविपरीत करिब दोब्बर रकम खर्च गरेको समितिले ठहर गरेको छ ।
प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षको उद्घाटन कार्यक्रममा ४९ लाख ४१ हजार सात सय ९५ रुपैयाँ खर्च भएको सदनमा जानकारी गराउनुभएको थियो ।
तर, मन्त्रालयहरूले अध्ययन उपसमितिलाई बुझाएको खर्च विवरणमा ७८ लाख १४ हजार ६ सय ६८ रुपैयाँ ५६ पैसा उल्लेख छ ।
यस्तै, महालेखा परीक्षकको प्रतिवेदनमा पनि छुट्टाछुट्टै खर्च विवरण उल्लेख गरिएको छ ।
यस्तै, नियमविपरीत खर्च गर्नेहरूलाई समितिले निकालेको निश्कर्षका आधारमा कारबाहीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय समितिले गरेको समितिका सदस्य सांसद गोपाल शर्माले बताउनुभयो ।