भर्ना अभियानलाई यसरी चलाउँदैछ सरकार…

चाँदनी कठायत ।
सुर्खेत, ४ वैशाख (जागरण) । विद्यार्थीलाई विद्यालय भर्ना गर्ने भन्दै अभियान शुरु भएसँगै अहिले यसलाई सफल पार्न केन्द्र सरकारदेखि स्थानीय सरकार जुटिरहेको छ ।
विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यालय भित्र पु¥याउन ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गरेको छ ।
सरकारले शिक्षाबाट वञ्चित बालबालिकालाई लक्षित गरेर थालेको अभियानमा अभिभावक बन्न सक्षम व्यक्तिहरुलाई आग्रह पनि गरेको छ । यो आग्रहलाई स्थानीय सरकारले पनि साथ दिने घोषणा गरेका छन् । सुर्खेतका स्थानीय तहले पनि विपन्न बालबालिकाको पहिचान गरेर अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता जनाएका छन् । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले आर्थिक अभावका कारण पढ्नबाट वञ्चित बालबालिकालाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सुर्खेतको बराहताल गाउँपालिकाले पनि विपन्न बालबालिकाको पहिचान गर्न वडा तहसम्मका जनप्रतिनिधीलाई नै परिचालन गरेको जनाएको छ । ¥यालीसहित विद्यार्थी भर्ना अभियान शुरु गरेको बराहताल गाउँपालिकाले पनि भर्ना अभियानलाई तिव्रता दिएको छ । विपन्न बालबालिकालाई जसरी पनि विद्यालयको पहुँचमा पु¥याउने अठोट छ बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको ।
सुर्खेतमा विद्यालय बाहिर रहेका विद्यार्थीको एकिन तथ्यांक नभएपनि एक सय भन्दा कम विद्यार्थी विद्यालयको पहुँच बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको मुख देख्न नपाएका आफ्ना नगरपालिकाका बालबालिकालाई सहयोग गर्ने योजना भेरीगंगा नगरपालिकाले बनाएको नगरप्रमुख भुपेन्द्रबहादुर चन्दको भनाई छ ।
चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले पनि भर्ना अभियानलाई सफल बनाउनका लागि विद्यार्थी अभिभावक तथा शिक्षकहरुसँग छलफल थालेको छ । न्युन स्तरका बालबालिकाको पहिचान गरी विद्यालयसम्म पुग्नका लागि वातावरण श्रृजना गर्ने अध्यक्ष शाहीले बताउनुभयो ।