कैलाली, २२ फागुन (जागरण) । कैलाली जिल्ला अदालतले साढे तीन वर्ष पहिले टीकापुरमा भएको घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ ।
घटना भएको करिव ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासबाट आज फैसला भएको हो । सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीसहित तीन जनालाई सफाई दिइएको छ ।
थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा भएको ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको थियो ।
गतवर्षको मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रेशम चौधरी कैलाली १ वाट निर्वाचित भएपछि निर्वाचित भएको १३ महिना पछि गत पुस १९ गते चौधरीलाई सांसद पदको शपथ खुवाइएको थियो । जेलमा रहेका चौधरीलाई शपथ लिएलगत्तै फेरी सांसदको लोगो लगाएर जेल पठाइएको थियो ।