सुर्खेत, २४ फागुन (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताउनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि शुरु भएको सुचना प्रविधी सम्बन्धि मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनु भएको हो ।
प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको भन्दै उहाँले त्यसमा क्यानको साथ र सहयोग जरुरी भएको बताउनुभयो ।
उहाँले अरुले आविस्कार गरेका सामग्री प्रयोगमै अल्झिने भन्दा आफैले त्यस्ता सामग्री उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
यही फागुन २८ गतेसम्म सञ्चालन हुने मेलाको उद्धघाटन नेपाली वैज्ञानिकहरुद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर गरेको थियो ।
कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेतले मेलाको आयोजना गरेको हो ।
मेलामा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।