प्रभा रावत ।
सुर्खेत, २४ फागुन (जागरण) । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।
एकातिर दिवस मनाइन्छ धुमधामले अर्को तर्फ महिलाहरु श्रममै व्यस्त छन् । दिवस मनाइरहदा अधिकासं महिलाहरु आफ्नै काममा व्यस्त थिए । वास्तविक श्रमिक महिलालाई दिवसको रमझमले छुन सकेको छैन भन्दा फरक पर्दैन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पनि विभिन्न तामझमका साथ दिवस मनाइयो । नाचगान विभिन्न नाराका साथमा दिवस मनाइरहदा साच्चिकै श्रम गरेर दैनिकी चलाउने महिलालाइ भने यो दिवसले छुन सकेन ।
खुल्ला मञ्चमा केही महिलाहरु दिवस मराइरहदा केही भने आफुनै दैनिकीमा व्यस्त देखिन्थे । हामी खुल्लामञ्चको छेउमा पुग्दा कालिकोटका तिकुरी संञ्ज्याल भने इट्टाको भारीको साथमा हुनुहुन्थ्यो । धुलाम्मे सडकको छेउमा उहाँ आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो ।
तिकुरी त एउटा प्रतिनिधी पात्र मात्र हुनुहुन्छ उहाँजस्ता धेरै नेपाली महिला जो साझ विहानको छाक टार्न दिनभर तल्लिन हुन्छन । उनिहरुलाई अन्तराष्टिय महिला दिवसले छुन सकेन ।
दिवस मनाइरहेका महिलाको हुललाई व्यबस्थापन गर्न व्यस्त प्रहरी जवान शोभा केएमलाई दिवस भन्दा ठुलो जनताको सेवा लागेको छ । दिवसको अवसरमा उहाँ जस्तै अरु महिलाहरुले विदा मनाए तर उहाँले आफ्नो ड्युटी मै खट्नुपर्ने अबस्थाका कारण दिवस मनाउन सक्ने अबस्था थिएन ।
वाजागाजाको ठुलो आवाजले मञ्च संगितमय बनेको थियो । महिला नेतृहरु अधिकारका भाषण गर्दै थिए । तर वीरेन्द्रनगर १२ निवासी मनसरा विकलाई भने दिवसभन्दा आफ्नो काम नै प्यारो थियो । कारण उहाले गिट्टी नकुटे सम्म चुल्हो बल्दैन । त्यसैले त उहाँ गिट्टी कुट्नमा नै व्यस्त हुनुभयो ।
बर्षमा एक दिन तामझाम गरेर मनाइने यस्ता दिवसले बास्तविक श्रम गरेर छाक टार्ने महिलाहरुको आवाज बोक्न सकेका छैनन् । अझैपनि बाठाटाठा र अगुवाहरुले नारी मुक्तीको वकालत गर्दै चर्को भाषण गरिरहदा श्रमिक महिलाहरु आझेलमै छन् ।
सुन्नुहोस् अडियो रिपोर्टः