लाहुरे हुन चाहनेलाई जीवन रुपान्तरण प्रशिक्षण

सुर्खेत, २५ फागुन (जागरण) । व्रिटिस, सिंगापुर तथा भारतीय सेनामा भर्ती हुन चाहने युवाहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा आज शनिवार जीवन रुपान्तरण प्रशिक्षण दिइँदैछ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवाहरुलाई लक्षित गरी सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि. ले प्रशिक्षणको आयोजना गरेको हो ।
प्रा. लि. का अध्यक्ष राहुल पाण्डेले युवाहरुलाई भर्ती हुनुभन्दा पहिला जीवन रुपान्तरणको प्रशिक्षण दिइने बताउनुभयो ।
उहाले युवाहरुलाई भर्ती गराइदिने लोभ देखाएर पैसा असुल्ने प्रवृत्तिलाई रोक्न पनि यो प्रशिक्षणले सघाउ पुग्ने जनाउनुभयो ।
सेन्टर स्थापनाको ११ बर्षको अवधिमा व्रिटिस, सिंगापुर र भारतमा करिव ६०० युवाहरुलाई भर्ती गराउन सफल भएको दावी गर्दै पाण्डेले यो प्रशिक्षण मुलुकका विभिन्न २२ जिल्लामा गरेर युवाहरुलाई सचेत गराइने उल्लेख गर्नुभयो ।

प्रशिक्षणमा जीवन रुपान्तरणका साथै भर्ती हुनका लागि आवश्यक पर्ने योग्यता, सीमारेखा, प्रक्रियालगायतका वारेमा जानकारी गराइने उहाँको भनाई छ । लाहुरे भन्दा पनि जीवनमा के बन्ने सोको निर्धारण गर्न सेन्टरले प्रशिक्षण चलाउँदै आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
सुर्खेतका युवा सुजन ढकालले पछिल्लो समय युवाहरुलाई कुलतबाट जोगाउन जीवन रुपान्तरणको प्रशिक्षण आवश्यक परेर आफ्नो भविष्य निर्धारण गर्न सघाउ पुग्ने बताउनुभएको छ ।

उहाँले भर्ती हुन चाहने युवाहरुका लागि प्रशिक्षण जरुरी रहेको बताउँदै सुर्खेतलगायत पश्चिम क्षेत्रमा पनि भर्ती हुने युवाहरुको संख्या बढ्दै गएको बताउनुभएको छ ।