काँक्रेविहारलाई प्लाष्टिकमुक्त बनाइने

सुर्खेत, २५ फागुन (जागरण) ।  दोस्रो लुम्बिनीको रुपमा परिचित सुर्खेतको काँक्रेविहारलाई प्लाष्टिकमुक्त बनाइने भएको छ । काँक्रेविहार रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको सुन्दरलाई थप उजागर गर्न प्लाष्टिक मुक्त बनाइने बताउनुभएको हो ।
आज सेडा आवासीय विद्यालयले काँक्रेविहार क्षेत्रमा गरेको सरसफाई पछि आयोजित कार्यक्रममा काँक्रेविहारमा फोहोर बढ्दै गएको उल्लेख गर्दै अव वडाले प्लाष्टिक मुक्त बनाउने कदम चाल्ने जानकारी दिनुभयो । उहाँले दोस्रो लुम्बिनीको रुपमा चर्चा कमाएको काँक्रेविहारको थप विकास र संरक्षण गर्न आवश्यक रहेको र त्यस कार्यमा वडा लागेको उल्लेख गर्नुभयो ।


लुम्बिनी हुँदै काँक्रेविहार र रारा तथा मानसरोबरसम्मको सर्किटको विकास गर्न प्रदेश तथा संघीय सरकारलाई उनले सुझाव दिनुभयो ।
सेडा आवासीय विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष नरेश सिंह थापाले काँक्रेविहार सुर्खेतको मात्र नभइ प्रदेशकै गौरव भएकोले यसको उचित विकास र संरक्षणमा जोड दिनुभयो ।
सोही अवसरमा सेडा आवासीय विद्यालयले फोहोर व्यवस्थापनका लागि डस्विनसमेत हस्तान्तरण गरेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष माधव खनाल, प्रिन्सिपल रुपेश भण्डारीसहित विद्यार्थीहरुले नगद संकलन गरी खरिद गरिएको डस्विन हस्तान्तरण गरिएको थियो ।