सुर्खेत, २६ फागुन (जागरण) । कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विकासे खर्च गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेको छ ।
बजेट आएको तीन चौमासिक बितिसक्दा पनि प्रदेश सरकारले विकासमा बजेट खर्च गर्न नसकेको भन्दै आलोचना गरेको हो ।
आज प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले प्रदेश राजधानी, दैलेखलगायतका जिल्लामा किन विकासे बजेट खर्च हुन सकेन ? भन्दै प्रष्न गर्नुभयो ।
उहाँले सरकारले अबको चार महिनामा जहाँ सकिन्छ, त्यहाँ काम गरेर विकासे बजेट खर्च गर्नुपर्नेमा सुझाब दिनुभयो ।
विकासे बजेट खर्च गर्ने संयन्त्र नभए स्थानीय तहमा जिम्मा दिनुपर्ने भन्दै उहाँले त्यसको अनुगमन गर्ने जिम्मा मन्त्री र त्यस क्षेत्रका प्रदेश सभा सदस्यलाई दिन आग्रह समेत गर्नुभएको छ ।
नेता शाहीले सरकारले माथेमा आयोगको गुरूयोजना अनुरूप वीरेन्द्रनगरको विकास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले गाउँ बस्तीमा विप्लव समूहले जनप्रतिनिधि, व्यापारी र व्यवसायीबाट चन्दा आतंक बढाएको बताउनुभयो ।
सबैलाई सरकारले सुरक्षाको प्रत्याभूति दिलाई चन्दा आतंकबाट उनीहरूलाई बचाउपर्नेमा जोड दिनुभयो ।