राउटेहरुले पहिलो पटक बैंकमा पुगेर तलब बुझे

सुर्खेत, २९ फागुन (जागरण)  राउटेले पहिलो पटक बैंकमा आएर तलब बुझेका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका लागि सहयोगी कार्यकर्ताका रुपमा नियुक्ति भएका राउटेहरुले आज वीरेन्द्रनगरमा आएर पहिलो महिनाको तबल बुझेका हुन ।
सामाजिक सेवा केन्द्र (सोसेक) ले उनीहरुलाई उपलब्ध गराएको मासिक तलब वीरेन्द्रनगरमा रहेको मेघा बैंक मार्फत बुझेका छन् ।


राउटे मुखिया र अगुवालाई सहयोगी सामाजिक कार्यकर्ताको रुपमा जागिर दिइएको हो । सुर्यनारायण शाही, बिरबहादुर शाही, दिलबहादुर शाही, प्रकाश शाही र महिनबहादुर शाहीले पहिलो महिनाको तबल बुझेका छन् । सुर्यनारायण शाहीलाई २ हजार अन्यलाई १ हजार पाँचसयका दरले तलब उपलब्ध गराइएको सोसेकले जनाएको छ ।


पहिलो पटक बैंकमा आएर पैसा बुझ्दा खुशी लागेको राउटे मुखिया दिबहादुर शाहीले बताउनुभयो ।
उनीहरुलाई आफ्नो समुदायमा काम गर्नका लागि विभिन्न मापदण्ड तोकिएको छ । राउटे समुदायमा कुपोषण भएका बालकालिकालाई पोषणयुक्त खानेकुरा खानमा सहयोग गर्ने, बालबालिकालाई औषधि खुवाउनमा सहयोग पु¥याउने, समुदायको सरसफाईमा ध्यान दिने, बनजंगलको संंरक्षण गर्ने कामका लागि मासिक रुपमा तलब दिने भनेर नियुक्ति दिइएको सोसेकका अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो । राउटे समुदायलाई समाजिकरण गर्नका लागि जागिर दिइएको बताउनुभयो ।


अहिले राउटे समुदायहरु सुर्खेतको लेकवेशी नगरपालिकाको भेरी किनारामा बसिरहेका छन् ।