कवि रगवीरको ‘अधुरो सपना’ विमोचन

चैत २, सुर्खेत । (जागरण) । सुर्खेतका साहित्यकारहरुले सरकार समाजवादी राज्यवस्थाप्रति गम्भीर नरहेको बताएका छन् । प्रगतिशील लेखक संघ नेपाल शाखा सुर्खेतको आयोजनामा शनिबार वीरेन्द्रनगरमा आयोजना गरिएको कवि रगवीर विश्वकर्माको ‘अधुरो सपना’ नामक कविता संग्रह विमोचन कार्यक्रममा लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई वर्तमान सरकारले रक्षा गर्न नसको उनीहरुको भनाइ छ । सरकारले देश समाजवाद उन्मुख भएको बताएपनि व्यवहारमा त्यस्तो नदेखिएकाले पुनः समाजवाद प्राप्तिका लागि जनताको सामुहिक एकता आवश्यक रहेको उनीहरुले औल्याए ।
कवि विश्वकर्माको ‘अधरो सपना’ कृतिमा पनि समाजवादी राज्य व्यवस्थाको अनुभूति जनताले गर्न नपाएकाले पूर्ण अधिकार प्राप्तिका लागि आपसी एकता आवश्यक रहेको उल्लेख गरिएको छ । ‘कार्यक्रममा साहित्यकार जागेश्वर नेपालले उक्त कृतिप्रति टिप्पणी गर्दे भने, ‘सुर्खेतको प्रगतिशील साहित्यीक आन्दोलनमा ‘अधुरो सपना’ कृत्ति कोसेढुङ्गाले सावित हु्नेछ ।’ उनले ‘अधुरो सपना’ मार्फत कवि रगवीरले वर्तमान अवस्थामा जनताले भोग्नु परेको वास्तविक कथा र व्याथाको बारेमा सटिक विश्लेषण गरिएको जानकारी दिए । प्रगतिशील लेखक संघ नेपाल सुर्खेत शाखाको १८३ औं साहित्य यात्राको अवसरमा आयोजित ‘अधुरो सपना’ कृत्ति प्रगतिशील लेखक संघ नेपालका पार्षद सिद्धबहादुर खड्काद्वारा विमोचन गरिएको थियो । कार्यक्रममा एक दर्जन बढी साहित्यकारहरुले समाजमा रहेको विकृत्ती, विसंगति अन्त्य नभएको, जनताका आधारभूत आवश्यकता पुरा नभएको, गरिवीको खाडल बढेर गएको, सामाजिक विभेदसँगै हत्या हिंसा बढ्दै गएकोप्रति रचना मार्फत चिन्ता व्यक्त गरेका थिए । देशको वर्तमान राजनीतिक परिदृश्यले पुनः द्वन्द्वमा जाने खतरा समेत रहेको उनीहरुले औल्याए ।