बोर्डिङ्ग छोडेर सरकारी, विद्यार्थीको चाप सामुदायिक विद्यालयमा बढ्यो

मुना हमाल ।
सुर्खेत, ६ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरकी विश्लेशा कँडेल पहिला एक निजी विद्यालयमा पढ्नुहुन्थ्यो । अंग्रेजी माध्ययमबाट पढाई हुने भएर नै उहाँ निजीमा पढ्नुहुन्थ्यो । महिनैपिच्छे महंगो शुल्क तिरेर पढ्नुपर्दाको दुःख उहाँलाई भन्दा पनि उहाँको अभिभावकलाई बढी थियो । त्यसैक्रममा उहाँले जनमाध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुन्छ भन्ने थाहा पाउनुभयो । त्यसपछि विश्लेशा पढ्नका लागि जनमावि आउनुभयो । सस्तो शुल्क, निजी विद्यालयकै जस्तो चट्ट पहिरनसँगै पढाईमा पनि गुणस्तरीयता भएपछि उहाँ खुसीले फुरुङ्ग हुनुहुन्छ । बोर्डिङ्ग भन्दा केही कम छैन यो स्कुल, उहाँ भन्नुहुन्छ,‘मलाई त आनन्द छ अहिले, पैसा पनि धेरे तिर्नुपर्दैन ।’
विश्लेशा मात्रै होईन वीरेन्द्रनगरकी अंशु सुवेदी पनि निजी विद्यालय छोडेर अमरज्योति नमुना माध्यमिक विद्यालयमा पढ्न थाल्नुभएको छ । अंग्रेजी र नेपाली दुबै माध्ययमबाट पढाई हुने भएपछि बाबाले यहीँ भर्ना गर्दिनुभयो, उहाँ भन्नुहुन्छ, ‘बोर्डिङ्ग जस्तै पढाई हुन्छ यहाँ पनि, राम्रो कुरा त फि थोरै हुन्छ त्यही हो खुसीको कुरा ।’
अंग्रेजी माध्यममा नै पढाई हुने भएपछि अहिले सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ । सामुुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किए पनि अहिले विद्यालयहरुले आफ्नै निजि स्रोतबाट शिक्षक राखेर पनि अंग्रेजी माध्यमलाई संगसंगै अघि बढाएका हुन् ।


‘सामुदायिक विद्यालयमा राम्रोसंग अंग्रेजी माध्यमबाट पनि पढाई हुने भएपछि मैले निजि विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा छोरीलाई भर्ना गर्न आएको हुँ’ जनमाविमा छोरीको भर्ना गर्न पुग्नुभएका वीरेन्द्रनगर ६ का खगेन्द्र पुलामीले भन्नुभयो, ‘विद्यालयको वातावरण सबै राम्रो, आर्थिक भार पनि काम हुने र अंग्रेजी माध्यबाट नै पढाई हुने भएपछि हामी खुशी छौँ ।
सामुदायिक विद्यालयहरु निजि विद्यालयको जस्तै सेवासुविधान दिन थालेका छन् । निजि विद्यालयमा जस्तै विद्यार्थीहरु सामुदायिक विद्यालयमा पनि टोपि, टाइ, बेल्ट जुत्तामा सजिएर विद्यालय आउने गर्छन् । सामुदायिक विद्यालमा अंग्रेजी माध्यमबाट पढाई हुने भएपछि अभिभावकहरु खुसी मात्र हैन पढाईलाई प्रभावकारी गराउनका लागि साथ पनि दिएका छन् ।

उनीहले अभिभावक शुल्क उठाएर पनि विद्यालाई सहयोग गरेका छन् । विरेन्द्रनगर १२ का लोकेन्द्र सुवेदीले पनि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन भएपछि छोरीलाई अघिल्लो वर्ष अमर ज्योति नमुना माविमा भर्ना गर्नुभयो । उहाँले विद्यालयमा आफुहरुले अंग्रेजी माध्यमबाट पढाइ संचालनका लागि शिक्षकको व्यवस्थापन गर्न सहयोग गरेको बताउनुहुन्छ ।

‘हामी अभिभावकहरु आफैले पनि अभिभावक शुल्क भनेर सहयोग गरेका छौँ’ उहाँले भन्नुभयो, ‘निजि विद्यालय भन्दा सामुदायिक विद्यालयमा नै छोराछोरीलाई पढाउन पाउँदा खुशी छौँ ।’
अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको केही सामुदायिक विद्यालयहरुमा अहिले अंग्रेजी माध्यमबाट पढ्न आउने विद्यार्थीहरुलाई धान्नै मुस्किल परेको छ । अमर ज्योति माविमा अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि अहिलेसम्म तिनसय ५० भन्दाबढी निजि विद्यालयबाट मात्रै विद्यार्थी आएका छन् ।

अमरज्योतिमा अहिले १३ जना शिक्षकलाई अंग्रेजी माध्यमकै लागि निजि स्रोतबाट राखेको छ । ‘विद्यार्थीहरुको संख्या बढेपछि कसरी कक्षा संचालन गर्ने भन्नेसम्म पनि भएको छ’ अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले भन्नुभयो, ‘पछिल्लो समय अंगेजी माध्यमबाट पढ्ने विद्यार्थीहरुको संख्या बढ्दो छ ।’
जन माध्यमिक विद्यालयलाई अहिले विद्यार्थीको चाप थेग्नै हम्मे हम्मे परेको छ । विद्यार्थी कोटाभन्दा धेरै भर्ना भएपछि अहिले भर्ना अभियान नै बन्द गरिएको विद्यालय व्ययवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला बताउनुहुन्छ । ‘अंग्रेजी माध्यमका कक्षा र शिक्षकको समेत छुट्टै व्यवस्थापन गर्नुपर्छ’ समितिका अध्यक्ष कोइरालाले बताउनु भयो, ‘अहिले आएका विद्यार्थीहरुको संख्यालाई थाम्नै हम्मेहम्मे परेको छ ।’
सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाई हुने भएपछि विद्यार्थीहरुको संख्या भने ह्वात्तै बढेको छ ।

सुर्खेतमा तिनसय १५ सामुदायिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय ईकाई शाखा सुर्खेतका अनुसार ति मध्ये करिब २० वटा सामुदायिक विद्यालयले नेपाली माध्यम मात्र नभएर अग्रेजी माध्यमबाट पढाई सुरु गरेका छन् । अहिले जिल्लामा जन माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत तथा साधारण मावि, अमरज्योति माविलगायतका विद्यालयहरुले अंग्रेजी माध्यमबाट कक्षा संचालन गरिरहेका छन् ।