कर्णालीमा सुरक्षा चुनौती बिप्लब : डिआईजी शाह

सल्यान ३, चैत । कर्णाली प्रदेश प्रहरी प्रमुख तथा डिआइजी महेश बिक्रम शाहले कर्णाली प्रदेशको पहिलो सुरक्षा चुनौती बिप्लव समुह भएको बताउनुभएको छ । चन्दाआतंक र आपराधिक क्रियाकलापमा सक्रिय बिप्लव समुह नै सुरक्षाको प्रमुख चुनौती भएको उहाँले बताउनुभएको हो । कर्णालीमा महिला हिसां, लागु औषध चुनौतीको रुपमा भएपनि पछिल्लो समय बिप्लव समुह मूख्य चुनौतीको रुपमा रहेको बताउनुभएको हो । सुरक्षाकर्मीलाई आबश्यक निर्देशन प्रदान गर्नुका साथै बर्तमान सुरक्षाको अबस्थाका बारेमा जनप्रतिनिधिहरु सँग छलफल गर्न सल्यान आउनुभएका उहाँले आईतबार आज खलंगामा पत्रकार भेटघाटका क्रममा यस्तो बताउनुभएको हो । ‘ठोस एजेण्डा नभएका, पूर्वअपराधि, लागुऔषधमा फसेका, गुण्डागर्दी गर्ने, बेरोजगार भएकाहरु बिप्लव समुहमा लागेका छन्, सरकारले नै घोषणा गरिसक्यो, उनीहरुको यो अपराधिक समुह हो’ उहाँले भन्नुभयो —‘हामी उनीहरुलाई जहाँ भेटयो, त्यही पक्रन्छौँ र कारबाही गछौँ ।’ शाहले विप्लव समुहले जनप्रतिनिधिहरुलाई धम्क्याउदैँ चन्दा माग्ने गरेको गुणासो आफुसँग गरेको बताउनुभयो ।

उहाँले चन्दा माग्दैमा, फोनमा धम्काउदैँमा नडराउन जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । ‘चन्दा माग्दैमा, फोनमा धम्काउदैँमा डराउनु पर्ने केही छैन्, तपाईहरु जनताले जिताएका जनप्रतिनिधि हो, स्थानिय तहमा शान्ती सुरक्षा कायम गर्ने जिम्मेवारी तपाईको काँधमा छ’— उहाँले भन्नुभयो । बिप्लव समुहले आफ्नो स्वार्थ पूर्तीको लागी दुई वटा चरित्र देखाएकोले सरकारले प्रतिबन्ध लगाईसकेको उहाँले बताउनुभयो । ‘बिप्लवले बम बिष्पोट बनाउने, जनतालाई तर्साउने, जनप्रतिनिधिसँग चन्दा माग्ने एकातीर गरिरहेको छ, अर्कोतीर सांस्कृतिक कार्यक्रम गर्ने, जनतालाई भेलागर्ने काम गरिरहेको छ’ उहाँले भन्नुभयो —‘यो बिप्लवका दुईवटा चरित्र हुन् ।’ उहाँले विप्लवका नाममा कुनै कार्यक्रम कसैले गरेमा त्यहीबाटै पक्राउ गरिने बताउनुभयो । उहाँले अपराधिक गतिबिधि रोख्न सबै सुरक्षा निकायहरुलाई संयुक्त रुपमा परिचालन गर्ने र गाँउ गाँउमा गएर स्थानिय नागरिकका समस्याहरु बुझ्ने बताउनुभयो । उहाँले नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सुरक्षा निकाय तयार रहेको बताउनुभयो ।