हिंसापीडित महिलाका लागि संरक्षण अधिकृतको व्यवस्था गर्दै प्रदेश सरकार

सुर्खेत, ५ चैत (जागरण) ।कर्णाली प्रदेश सरकारले घरेलु हिंसापीडित महिलाको सुरक्षाका लागि संरक्षण अधिकृतको व्यवस्था गर्ने भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तयार पारेको घरेलु हिंसा नियन्त्रण विधेयक २०७५ मा पीडित महिलाको सुरक्षाका लागि हरेक स्थानीय तहमा संरक्षण अधिकृत तोकिने व्यवस्था गरिएको हो ।
विधेयकमा व्यवस्था गरिएअनुसार प्रत्येक प्रहरी एकाइ कार्यालयले तालिम प्राप्त एक जना अधिकृतलाई संरक्षण अधिकृत तोक्नुपर्ने व्यवस्था विधेयकमा छ ।


मन्त्रालयका वरिष्ठ महिला विकास अधिकृत जमुना पौडेलले पीडित, प्रभावित, साक्षी र पीडितका सहयोगीको सुरक्षाको व्यवस्थाका लागि प्रहरीबाटै एकजना अधिकृत तोकिने जानकारी दिनुभयो ।
विधेयकमा प्रदेश सरकारले दीर्घकालिन पुनःस्थापना गृह स्थापना गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।