सुर्खेत, ९ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले अव प्रदेशमा कार्य गर्न चाहने गैरसरकारी संस्थाहरुलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने तयारी गरेको छ ।
एउटै उद्देश्य रहेका परियोजनाहरु पनि भिन्दाभिन्दै सञ्चालन हुँदा परिणाम प्रभावकारी नदेखिएको निष्कर्षसहित सरकारले यस्तो तयारी गरेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुले सरकारकै खातामा पैसा हाल्नुपर्ने बताउनुभएको छ ।
उहाँले कर्णाली प्रदेशमा हालसम्म अर्बौ बजेट आएपनि केही परिवर्तन नभएको बताउनु भएको हो ।
युवा गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले केही संस्थाका कारण कर्णालीमा विकास हुन नसकेको र त्यस्ता संस्थालाई बन्द गराउनुको विकल्प नभएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णालीलाई समृद्ध बनाउने हो भने होटलमा बसेर कुरा गरेर नहुने बताउनुभयो ।