पृष्ठभूमीः
‘सिम्ता’ क्षेत्र सुन्दरताले भरिपूर्ण क्षेत्र हो । सिम्ता गाउँपालिका कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पुर्वमा अवस्थित छ । समुन्द्री सतहदेखि यसको उचाई ५०० देखि २३०० सम्म रहेको यो क्षेत्र महाभारत पर्वतमालामा अवस्थित छ । यो परापुर्वकालमा ७०० सिम्ताको रुपमा परिचित थियो । विस्तारै यसलाई परिमार्जित गरेर सिम्ता भनेर नामाकरण गरियो । सिम्ताका बारेमा विभिन्न प्रकारका किंवदन्तीहरु छन् । सिम्तामा प्रशस्त मात्रामा सल्लो पाइने भएको कारण यस ठाउँमा सल्लाको फललाई सिम्टा वा सिम्ती पाइने भएका कारण यसैबाट अपभ्रंस भएर सिम्ता रहेको भनाई छ । त्यसैगरी सिम्ता क्षेत्रमा प्रशस्त मात्रामा सिम, तामा पाइने भएकाले यस क्षेत्रलाई ‘सिम्तादरा’को रुपमा नामकरण भएको पौराणिक भनाई रहेको छ । सिम्ता यसका नजिक छिमेकी जिल्लाको रुपमा पुर्वी भेगमा सल्यान र उत्तरी भेगमा जाजरकोट छ । यसको काखैमा नागवेलीको रुपमा भेरी नदी बगिरहेको छ । जसले सुर्खेत र सल्यान जिल्लाको सिमाना छुट्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
संरचनाः
संघीय संरचना अनुसार साविका आठ वटा गाउँ विकास समितिलाई मिलाएर नौ वटा वडामा विभाजित गरिएको छ सिम्तामा । साविकको बजेडीचौर गाविसलाई भौगोलिक सुगमता रहेको भन्दै दुई वटा वडामा विभाजित गरियो । समग्रमा नौ वटा वडालाई मिलाएर सिम्ता गाउँपालिका नामाकरण गरिएको छ । लोकतान्त्रिक विधि र पद्धतीअनुसार २०७४ वैशाख ३१ गते स्थानीय निर्वाचन सम्पन्न भयो । जसमा नेपाली काँग्रेसलाई पराजित बनाउदै तत्कालिन नेकपा एमाले विजय प्राप्त गर्यो । स्थानिय निति, नियम र पद्धती वमोजिम गाउँपालिका र वडामा जनताले आफुले रुचाएका अब्वल जनप्रतिनिधि छनौट गरे । उनै जनप्रतिनिधिहरु मार्फत् गाउँपालिकाका वडाहरुमा कार्यहरु तदारुकताका साथ अघि बढिरहेका छन् ।
विरोधका लागि विरोधः
गुट, उपगुट र प्रतिपक्ष विरोधका नाममा विरोधमात्र गर्ने शैलिले पनि कता कता विकास निर्माणको काममा सकस भइरहेको छ । तर सिम्ताली जनताको भरपुर स्नेह, हौसला र उत्पे्ररणाले गर्दा सिम्ताली जनप्रतिनिधिहरुले गुट, उपगुट र प्रतिपक्षलाई मिलाउदै उनिहरुको भावना र विचारलाई समेटेर न्यायूुर्ण ढंगले विकास निर्माणका कार्यहरुलाई गति दिइरहेका छन् । यसको टड्कारो उदाहरण हो, सिम्ता गाउँपालिकाको केन्द्र तोक्ने सम्वन्धमा दुई तिहाई जनप्रतिनिधिले वहुमतका साथ पारित गरेको निर्णय । त्यस बेला विभिन्न लज्जास्पद वहानवाजी बनाउँदै दुइतिहाई जनप्रतिनिधिहरुले गरेको निर्णयका विरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरियो । अन्तिममा त्यो मुद्दा दुइतिहाई जनप्रतिनिधिहरुका पक्षमा न्यायिक फैसला गरियो र निर्णय गरिएकै ठाउँमा गाउँपालिकाले विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाइरहेको छ । यसले के प्रष्ट गर्दछ भने, विरोधका नाममा विरोधमात्र गर्ने र विरोध गर्ने नयाँ विषय खोजेरै हिड्ने अतिश्योक्ती हँुदैन । किनकी सिम्ता गाउँपालिकाले विभिन्न खाले सु–अवसर पाएको छ । जस्तै नेपाल सरकारले सिम्ता गाउँपालिका अध्यक्षलाई चीन भ्रमण जाने अवसर प्रदान गरिनु, सुशासन र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत् अमेरिकी सहयोग नियोग (यूएसआइडी) को साझेदारी विकास परियोजनाको सहयोगमा करिव एक करोड नेपाली मूल्य बराबरको ‘फर्ड रेन्जर’ गाडी प्रदान गरिनु जस्ता महत्वपुर्ण उपलब्धिले गाउँपालिकाको विकास निर्माणको कार्यमा टेवा पुर्याएको छ । यसको कही कतै चर्चा परिचर्चा सुनिएन जसले गर्दा विरोधिका आवाजहरु लुप्त भए ।
आम्दानीका स्रोत कृषि र पशुपालनः
यस गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा कृषि र पशुपालन रहेका छन् । भौगोलिक विविधताको कारणले गर्दा सबै ठाउँमा एकै नासको उत्पादन नहुने भएकाले भौगोलिक विविधताका आधारमा खेतिपाती गर्ने गरिन्छ । यहाँका प्रमुख खाद्यान्न वालीका रुपमा धान, मकै, गहुँ, कोदो लगाउने गरिन्छ । धान खेती विशेष गरी वेशीमा फल्ने गर्दछ । वेशिका रुपमा सिम्ता खोलाका नामले परिचित छाडेगार, यसै खोलाको किनारमा अवस्थित वेशी ठाउँमा धान रहर लाग्दो गरी लहलह फल्ने गर्दछ । खान्माको भलटाकुरा, जुम्ल्याअम्रै, बजेडाआली देखी भेरीमा पुगुञ्जेलसम्म यसका छेउछाउमा धान र गहुँ खेती गर्ने गरिन्छ । उत्तरी भेगमा अवस्थित घोरेटाको टाटे र जुगुुई बगरमा पनि धान र गहुँ दुवै खेती राम्रो हुन्छ । अलि अग्लो ठाउँमा पाखे धान लगाइन्छ । यो पानी सिञ्चाई धान भन्दा कम उत्पादन हुने गर्दछ । मकै, कोदो र गहुँ सिम्ताको सबै ठाउँमा हुने गर्दछ । गाउँपालिकाको राकममा वाहेक सवै वडाहरुमा सुन्तला लटरम्म फल्ने गर्दछन् । यसलाई व्यवसायिक बनाएर स्थानिय नागरिक समृद्धितर्फ लम्किन सक्ने अवसर छ । सवैभन्दा बढी काफलकोट, खानिखोला, डाँडाखाली, काप्रिचौर, बजेडीचौर, आग्रिगाउँ र घोरेटाका अग्लो भागमा फल्ने गर्दछ । सुन्तला नास्पती, आरुबखडा, काफल जस्ता वर्षेनी फल्ने फलफुलहरु विक्री गरेर जिविकोपार्जन गर्ने गर्दछन् स्थानिय नागरिकहरु । व्यवसायिक नभई निर्वाहमुखी रहेको पशुपालनका रुपमा भंैसी, बाख्रा पनि यहाँको प्रमुख पेशाको रुपमा छ । भैंसीको दुध, दही, घिउ विक्री गरेर जिविकोपार्जन गर्ने गर्दछन् । बाख्रापालनमा भने केही व्यवसायिकता आउन थालेको छ । उन्नत जातका वाख्रा, खसी बोकाहरु पालेर त्यसलाई विक्री गर्ने गरिएको छ । जडिबुटीको रुपमा टिमुर, अलैंची, अदुवा सिम्ताका प्रमुख आम्दानीको स्रोतको रुपमा मान्न सकिन्छ । विशेषगरी टिमुर वडा नं १ र वडा नं ६ वाहेकका सबै वडाको अग्लो भागमा फल्ने गर्दछ । अहिले कुखुरापालन पनि प्रमुख आयस्रोतका रुपमा रहेको छ । जसले गर्दा पशुपालक कृषकलाई सहज बनाइदिएको छ ।
सिम्ताको शिक्षाः
गुणस्तरिय र प्रविधियुक्त शिक्षामा पनि सिम्ता गाउँपालिकाले विशेष जोड दिएको छ । अहिले संघीय संरचना अनुसार गाउँपालिकाको प्रत्यक्ष निगरानीमा सिम्ताका सबै वडामा छरिएका विद्यालयहरुको प्रत्यक्ष अवलोकन गर्दै सिम्ता गाउँपालिकाले काम गरिरहेको छ । सिम्तामा रहेका विभिन्न विद्यालयहरुलाई नमूना विद्यालय बनाउनका निम्ति गाउँपालिकाले प्रविधियुक्त शिक्षामा पनि विशेष जोड दिदै आइरहेको छ । सामाजिक मनोविज्ञानमा आधारित ‘टकिङ्ग टिचर पेन’ जुन प्रविधिमा आधारित विश्वकै ‘लेटेस्ट डिभाइस’बाट गाउँपालिकाले शिक्षामा स्तरोन्ति गर्नका लागि यो प्रविधियुक्त सामग्रीलाई विशेष रुपमा जोड दिइरहेको छ । सिम्ता गाउँपालिका र यसका सम्पूर्ण वडा कार्यालय लगायत स्वास्थ्य चौकी, आधारभूत र माध्यमिक स्तरका विद्यालयमा इलेक्ट्रोनिक हाँजिरको पनि व्यवस्था गरिएको छ ।
सिम्तालीको रोजगारीः
वेरोजगारीको अन्त्य र आत्मानिर्भर गाउँपालिका बनाउने ध्येयका साथ विभिन्न किसिमका सरकारी, गैरसरकारी, अन्तराष्ट्रिय निकायसँग सहकार्य गर्दै सिम्ता गाउँपालिकाले विभिन्न किसिमका सिपमूलक, रोजगारीमूलक कार्यक्रमको थालनी गरिरहेको छ । सिम्ता गाउँपालिकामा रहेका वेरोजगार युवाहरुलाई रोजगारमुखि बनाउने लक्ष्यका साथ सिम्ता गाउँपालिकाले ‘तअपाटि’ अवधारणा ल्याएको छ जस्तैः तः तरकारी, अः अमिलो ,अदुवा, अलैची, पाः पशुपालन, टिः टिमुर आदीलाई बिशेष जोड दिएको छ ।
पर्यटनको खानी सिम्ताः
पर्यटकीय र धार्मिक स्थलका रुपमा पनि सिम्तादरो निकै प्रसिद्ध क्षेत्रका रुपमा परिचित हुँदै आएको छ । यहाँ विभिन्न जातजाति, भेष भूषाका मानिसहरु छरिएर रहेका छन् । यो मौलिक साँस्कृतिको भरिपूर्ण क्षेत्र पनि हो । यहाँका सिंगारु नाँच, गर्रा नाँच, झ्याउरे नाँच, पञ्चेबाजा, सैरेलु आदीले जो कोहीलाई मन्त्रमुग्द तुल्याउछ । नागवेलीका रुपमा बग्ने भेरी नदीलाई विभिन्न सम्भावनाको रुपमा हेर्न र अवलोकन गर्न थालिएको छ । यसलाई आउँदा दिनमा छेडाखोला देखि राकमको पुलबजार सम्मका लागि र्याफ्टिंग चलाउन थालियो भने विदेशी तथा स्वदेशी पर्यटकहरुका लागि मुख्य आर्कषक स्थलका रुपमा निर्माण गर्न सकिने छ । यसबाट आम्दानी गरेर जिविकोपार्जन गर्न पनि सकिन्छ । राकमको शिवालय र कोटेश्वर महादेव मन्दिर धार्मिक र पर्यटकिय स्थलका रुपमा परिचित छन् । यसलाई अझै नेपालभर मात्र नभएर देश बाहिर यसको प्रचारप्रसार गर्नु अति आवश्यक छ । जसको वृहत प्रचारप्रसारले व्यक्ति एकपटक तिर्थयात्रीको रुपमा घुम्न आउन् । यसको विशेष महिमा बुुझेर प्रचारप्रसार पनि गरुन् । यो आउँदा दिनमा निकै सम्भावना बोकेको तिर्थस्थलका रुपमा परिचित हुनेछ । खानीपाखा गुफा, मस्तारा गुफा र राजकाँडा दरबार सिम्ताको मुख्य पुरातात्विक इतिहासमात्र होइन परापूर्वकालको सिम्ता राज्यको शान पनि हो । आउँदा दिनमा सहि ढंगले यसको गरिमालाई उजागर गरी वास्तविकता के रहेछ भन्ने कुरा थाहा पाउनका लागि यसलाई संरक्षण र सम्वद्र्धन गरिनु अत्यावश्यक छ । भोटेचुलीलाई पर्यावरणिय सौन्दर्यताको दृष्टिले अत्यन्तै महत्वपूर्ण ठाउँका रुपमा हेरिएको छ ।
विकासका लागि स्पष्ट लक्ष्यः
कुनै पनि विकासको कार्य एकै दिनमा परिपुर्ण हुने प्रक्रिया होइन । यो त निरन्तर रुपमा चलिरहने प्रक्रिया हो । यसै कुरालाई मध्यनजर गरेर सिम्ता गाउँपालिकाले आफ्ना लक्ष्यहरु प्रष्ट रुपमा जनता माझ राखेको छ । यिनै लक्ष्यलाई मध्यनजर गरी गाउँपालिकाले रणनीतिक रुपमा आफ्ना कामलाई तदारुकताका साथ अघि बढाएको छ । सिम्तामा पहुँच मार्ग निर्माणका सवालमा सिम्ताका सबै वडामा मोटरबाटो जोड्नका लागि गाउँपालिकाले क्रषि चक्रपथ निर्माण गरिँदैछ । सिम्ताली जनताले प्रत्यक्ष रुपमा राहत महशुस हुनेगरी गाउँपालिकाले स्वास्थ्य शिविरमार्फत विभिन्न स्वास्थ्य समस्या समाधान गर्न सेवा दिने गरेको छ । उदारहण हाम्रा अगाडि सर्वविदिति नै छ कि गत पौष महिनामा आँखा शिविर सञ्चालन गरेर सिम्ता गाउँपालिका मात्र नभएर जाजरकोट, सल्यान समेतका नागरिकहरुलाई निःशुल्क सेवा प्रदान गरियो । विभिन्न घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिक आमाबुबाहरुलाई सेवा दिदै आइरहेको छ । सिम्तालाई उज्यालो बनाउनका निम्ति सिम्ता गाउँपालिकाले सामुदायिक ग्रामीण विद्युतिकरण अभियानसँग सम्झौता गरेर करिव २५ करोड रुपैयाँ वजेट अनुदान प्राप्त गरेको छ । यसको मुख्य लक्ष्य भनेको सिम्ता उज्यालो बनाउनु हो । ‘सिम्ताली’ मोडेल निर्माण गरेर यहाँका विकास निर्माणका कार्यलाई नयाँ र आधुनिक ढंगले विस्तार गर्न गाउँपालिका अविच्छिन्न रुपमा लागि परिरहेको छ । सिम्ता गाउँपालिकालाई निति, विधि र पद्धतीअनुसार सञ्चलन गर्न २८ वटा नीति, नियम, कार्यविधि र निर्देशिकाहरु सर्वसम्मत निर्माण गरिएका छन् । खुला मन र हृदयका साथ गाउँपालिकाको अभियानलाई सार्थकता दिलाउन वडा नं .६ गजौंडावासीले १ सय ४६ रोपनी जग्गा संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । यस गाउँपालिकाको मुख्य बजारका रुपमा जामुनेबजार, बजेडाआलि र बाँखर्क रहेका छन् । प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका यिनै बजारलाई आधुनिक ढंगले विकास गर्न सकेमा यसले गाउँपालिकाको विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
‘जहाँ चुनौतिहरुका चाङ्गहरु हुन्छन् त्यहीँ अथाह सम्भावना हुन्छन्’ भन्ने सोचका आधारले अगाडि बढ्ने सकेमा सामाजिक आर्थिक विकास सम्भव छ । हाम्रा बाउबाजेले परिवर्तनको अनुभुति गर्न सकेनन्, अव हाम्रा सन्तानका निम्ती हामीले परिवर्तन गराउनैपर्ने छ । विकासको मूल कडी भनेकै कुसल नेतृत्व, विधिको शासन, विकासमा आम नागरिकको अर्थपूर्ण सहभागिता जनप्रतिनिधि उत्तरदायी सरकारको साथै विकासको मूल प्रवाहिकरणलाई ध्यान दिएर अगाडि बढ्न सकेमा स्थानिय सरकार आफ्नो लक्ष्यमा अगाडि बढ्न सक्छ । यही दुष्टिकोणका साथ सिम्ता गाँउपालिका विभिन्न बाधा अड्चन र चुनौतिका बावजुत पनि शतिसाल झैँ ठिङ्ग उभिएर अग्रगतिमा अगाडि बढिरहेको छ । यो दृढता कम नहोस् शुभकामना ।
–थुमान बहादुर अधिकारी सिम्ता गाउँपालिका वडानम्वर ६, का युवा हुनुहुन्छ ।