आफै कर्मचारी भर्ना गर्ने कर्णाली सरकारको तयारी, लोक सेवा आयोग बनाइदै

सुर्खेत, १० चैत (जागरण) । कर्मचारी भर्ना गर्नका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारी गरेको छ । प्रदेश सरकार मातहत कार्य गर्ने कर्मचारी भर्ना गर्नका लागि प्रदेशस्तरको आयोग गठन गर्ने तयारी गरेको हो ।
त्यसका लागि आयोग गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्ने भएको छ । विधेयकलाई मन्त्रीपरिषद्ले स्वीकृत गरिसकेको प्रदेश सरकारकी प्रवक्ता एवम् भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
केसीकाअनुसार प्रादेशिक जडिबुटी तथा शीत भन्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न र त्यस कार्यक्रम कार्यान्वयन गर्न जागृति सामुदायिक वन उपभोक्ता समूह भेरीगंगा नगरपालिका वडा नं १०, मदानेचौर सुर्खेतको ६ हेक्टर वन क्षेत्र भोगाधिकार प्रदान गर्न दिने स्विकृतीको लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।
कर्णाली सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा सल्यानका भिम प्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालिकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा दैलेखका रत्न गाहामगरलाई मनोनयन गर्ने गरेको छ ।