भैँसीले दिएको सन्तुष्टी (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, १० चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १४ राम्रीकाँडा पुग्दा स्थानिय डिलबहादुर खत्री र उहाँकी श्रीमति गंगा खत्री भैँसी फारममा व्यस्त भेटिनुभयो । एकआपसमा हाँसोठट्टा गर्दै उहाँहरु मज्जाले भैँसीको स्याहार गर्दै हुनुहुन्छ ।
पहिला ड्राइभर भनेर चिनिने डिलबहादुरलाई हिजोआज गाउँमा एक सफल र व्यवसायिक भैँसीपालक कृषकको रुपमा चिन्ने गरिन्छ । उहाँको परिचय फेरिँदा परिवारका सवै सदस्य दंग छन् ।

भैँसी स्याहारमा दम्पत्ती

करिव दुई वर्षदेखि उहाँ व्यवसायिक रुपमा भैसीपालनमा व्यस्त हुनुहुन्छ । भैँसीपालनभन्दा पहिला खत्रीले ११ वर्षसम्म गाडी चलाउनुभयो । भैँसीपालनबाट राम्रो आम्दानी हुने थाह पाएपछि उहाँले भैँसीपालन व्यवसायलाई नै आफ्नो प्रमुख पेशा बनाउने सोच गराउनुभयो । अहिले भैँसीपालनबाटै मनग्य आम्दानी हुने गरेको उहाँको भनाई छ ।
उहाँहरुको घरमा भैँसीपालन अहिले मात्रै होइन पहिला पनि हुन्थ्यो तर व्यवसायिक रुपमा भने अचेलमात्रै सञ्चालन भएको हो । श्रीमानले गाडी चलाउँदा पनि गंगाले एउटा भैँसी पाल्नु भएको थियो । श्रीमानश्रीमति घरमै बसेर भैँसीपालन गर्दा डिलबहादुर पनि खुसी र गंगा पनि ।
उहाँको फारमबाट दैनिक ६० लिटर दुध उत्पादन हुन्छ । भैँसीपालन व्यवसायबाट छोराछोरी पढाउने मात्रै होइन केही रकम वचतसमेत गर्ने गर्नुभएको छ । खत्री दम्पत्तीले अझै भैंसीको संख्या थप्ने योजना बनाउनुभएको छ ।

भकारोमा भैँसी

आफ्नो व्यवसायबाट सन्तुष्ट रहे पनि सरकारी तवरबाट पशुपालक कृषकलाई प्रोत्साहन गर्नुपर्ने डिलबहादुरको भनाई छ । पानी, यातायात तथा पशु प्राविधिक कठिनाइलाई समाधान गर्न सरकारले ध्यान दिएमा आफूमात्रै होइन आफू जस्तै पशुपालक कृषक खुसी हुने उहाँको भनाई छ ।
पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षण बढ्दो छ । आकर्षण बढ्दो मात्रै होइन, यसबाट राम्रो आम्दानी गरेका गतिलो उदाहरणसमेत यही समाजका केही व्यक्तिले दिन थालिसकेका छन् । जाँगर र लगनशिलता भए पशुपालन व्यवसायबाटै आम्दानी गर्न सकिन्छ भन्ने एउटा प्रतिनिधिमूलक पात्र हुनुहुन्छ डिलबहादुर र उहाँकी श्रीमति गंगा ।

सुन्नुहोस् अडियो रिपोर्टः