चौकुनेका अध्यक्ष शाही बने रन्जनाको अभिभावक, छोराछोरी भर्ना नगर्नेलाई कारवाही गरिने

सुर्खेत, ६ वैशाख (जागरण) । दुई वर्षभित्र नेपाललाई निरक्षरमुक्त बनाउने अभियानमा सरकार जुटिरहेको बेला अहिले राष्ट्रिय भर्ना अभियानलाई तिव्रता दिईएको छ । भर्ना अभियानलाई सफल बनाउन भन्दै प्रधानमन्त्री, मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधीहरुले समेत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन् । सोही अभियानलाई साथ दिँदै सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही एक बालिकाको अभिभावक बन्नुभएको छ । उहाँले आर्थिक अवस्था कमजोर रहेका चौकुने गाउँपालिका वाड नं ८ मिलनचोकमा घर भएका हर्कबहादुर भाट र तुल्सा भाटकी ६ वर्षिण छोरी रन्जना भाटलाई विद्यालयमा भर्ना गर्नुभएको हो ।
अध्यक्ष शाहीले रन्जनालाई गुटुमा रहेको जिवन ज्योति माध्यमिक विद्यालयमा कक्षा एकमा भर्ना गर्नुभएको हो । अध्यक्ष शाहीले रन्जनाको अध्ययन, पोशाक देखि अतिरिक्त खर्च बेहोर्ने बताउनुभएको छ ।

यसैबिच, उहाँले भर्ना अभियानलाई तिव्रता दिईएको पनि बताउनुभयो । अध्यक्ष शाहीले गाउँमा भर्ना अभियान टोली नै खटिएर हरेक परिवारको स्थिति बुझेर बालबालिकालाई विद्यालयसम्म पु¥याउन आग्रह गरेको पनि बताउनुभयो ।
आफ्नो गाँउपालिकाका कोही विद्यार्थी पनि गरिबीकै कारणले शिक्षाबाट वञ्चित नहुने उहाँको दाबी छ ।
अध्यक्ष शाहीले कोही बालबालिका छुटेको खण्डमा उनीहरुलाई भर्ना गराईने, आर्थिक समस्या भएको भए आर्थिक सहयोग पनि गर्ने बताउनुभयो ।
साथै उहाँले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई कारवाही गर्ने पनि चेतावनी दिनुभयो ।

आवासीय विद्यालय सञ्चालन गरिने
चौकुने गाँउपालिकाले अनाथ र असहाय बालबालिकाका लागि आवासीय विद्यालय संचालन गर्ने तयारी गरेको छ ।
अध्यक्ष शाहीले अहिले आफूले हरेक विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालनका लागि गाउँपालिका भित्र अनाथ र असहाय बालबालिका कति छन त्यो तथ्यांक पनि संकलन गर्न सुरु गरिएको बताउनुभयो ।