कर्णाली नदिको सौन्दर्यता बाह्य पर्यटनको आकर्षण, तीन दिन नदी सम्मेलन

सुर्खेत, १२ चैत (जागरण) । कर्णाली नदिलाई अन्तरराष्ट्रिय पर्यटनको केन्द्र बनाउँदै कर्णाली प्रदेश सरकारले बाह्य पर्यटकलाई निमन्त्रणा गर्ने भएको छ ।
बाह्य पर्यटक भित्र्याउनका लागि कर्णाली नदिको सौन्दर्यतालाई अन्तरराष्ट्रिय जगतसम्म पु¥याउन आफूहरुले प्रयास गर्ने प्रदेश सरकारले बताएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको कर्णाली नदिका फोटाहरुको प्रदर्शनीलाई उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिं बुढाले यस्तो बताउनुभएको हो ।
कैलाश पर्वतबाट शुरु भई कर्णाली प्रदेशका विभिन्न जिल्ला भएर बग्ने कर्णाली नदिका फोटाहरुबाट पर्यटकलाई आकर्षित गर्नका लागि फोटो प्रदर्शन गरिएको हो ।
कर्णालीमा पहिलो पटक आयोजना गरिएको नदी सम्मेलनअन्तर्गत फोटो प्रदर्शनी गरिएको छ । घण्टाघर पार्कमा तीन सयभन्दा बढी फोटोहरु प्रदर्शनीमा रार्खिएको छ । फोटो प्रदर्शनी भोलीसम्म हुनेछ ।
यसैबीच, दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा चैत १५, १६ र १७ गते राष्ट्रिय नदी सम्मेलन आयोजना गरिने भएको छ ।
नदीको क्षमता चेकजाँच, अध्ययन र नदी संरक्षण गर्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको नदी संरक्षण संस्थाका सदस्य भक्तबहादुर शाहीले जानकारी दिनुभयो । करिव तीनसय राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ तथा कर्मचारीको उपस्थिति रहने छ ।
वर्षेनी नदी तटीय क्षेत्र कटान हुनुका साथै नदीको संरक्षण आवश्यक रहेकाले जोखिम र नदीबाट सुरक्षित तरिकाबाट लिन सकिने लाभका विषयमा सम्मेलनमा छलफल हुनेछ ।