गाउँपालिका अध्यक्षबाटै किर्ते भएको दावी

हुम्ला, १२ चैत (रेडियो कैलाश) । कर्णाली प्रदेश सरकारबाट योजना माग गर्नका लागि हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले किर्ते कागजात पेश गरेको पाइएको छ ।
प्रदेश सरकारले स्थानीय तहमा दिने समपुरक बजेटअन्तर्गतका योजना माग गर्न गाउँ कार्यपालिकाको निर्णय आवश्यक परेपनि अध्यक्ष चौलागाइले केही ब्यक्तिसंग मिलेर किर्ते गरी प्रदेश मन्त्रालयमा योजनाको फर्म पेश गरेको प्रमाण फेला परेको हो ।
उपाध्यक्ष र वडाध्यक्षलाई समेत थाह नदिई आफूहरुको किर्ते हस्ताक्षर गरी ७ वटा योजनाको फारम भरेको चंखेली गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सालिग्राम ऐडीले बताउनु भएको छ ।
अध्यक्ष चौलागाईलाई यस बिषयमा आफु अनबिज्ञ रहेको भन्दै आफ्नो बदनाम गर्न खोजिएको प्रतिक्रिया दिनु भएको छ ।
यस्तै रेडियो कैलाशकै अनुसार ठेकेदारले समयमा निर्माण सामग्री नपुर्याउदा हुम्लाका ११ वटा झुलुङ्गे पुलहरुको निर्माण कार्य अलपत्र परेका छन् । काम गर्ने सम्झौता भएको ५ बर्ष बिति सक्दा पनि ठेकेदारको कारण काम हुन नसकेको हो ।
तत्कालीन जिल्ला बिकास समिति हुम्लाले जिल्लाका मुच, घटेखोला, पुलबुराउसे, ठाडोखोला, सिक्पा खोला, राहदेवलगायतका ठाउँमा निर्माण सुरु गरिएका पुलहरु अलपत्र परेका हुन् ।