आमा समूहको गज्जवको कामः सर्वोत्तम पिठो बनाउँदै बेच्दै (अडियो सहित) 

मुना हमाल ।

सुर्खेत, १३ चैत (जागण) । शुक्रवारको दिन छ, महिलाहरु जम्मा भइसके । कसैले जौँ, भटमास, दलहन जस्ता अन्नपात जोडजाम् गर्दैछन् । कोही जम्मा भएको अन्न भुट्ने भाडाकुँडीको व्यवस्था गदैछन् त कोही निर्देशन दिइरहेका छन् ।

भोली पल्ट फेरी यसैगरी महिलाहरु जम्मा भए । अव भने यसअघि भुटिएको अन्नलाई पिस्ने काम हुँदैछ । कतिपयले भने पिसिएको सर्वोत्तम पिठोलाई तौल गर्दैछन् र पाकेटमा प्याक गर्दैछन् ।

हो यस्तै दृश्य देख्न सकिन्छ रिङरोड आमा समुहमा आवद्ध महिलाहरुको । महिला समूह, आमा समूह जस्ता सामुदायिक समूह भन्ने वित्तिकै धेरै जनाको मानशपटलमा आउँछ, भेला हुने, रकम जम्मा गर्ने, ऋण लिने यस्तै यस्तै । तर केही यस्ता समूह छन्, जसले सिर्जनशिल कामहरु गरिरहेका छन् । यस्तै मध्येको एक हो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर ८ मा रहेको रिङरोड आमा समुह ।

उनीहरुले उत्पादन गर्ने सर्वोत्तम पिठोले खेर गइरहने समयको बचत मात्र होइन आम्दानी समेत बढाएको आमा समुहका अध्यक्ष लालमति पन्तले बताउनुभयो ।

घरको काम सकेर दिउँसोको खालि समयमा सर्वोत्तम पिठो बनाउन सुरु गरिएको हो । घरको काम संगै बचत गर्ने र बालबालिकामा हुने कुपोषण न्युुनिकरणमा सहयोग पुर्‍याउने विश्वास रहेको अध्यक्ष पन्तको भनाई छ ।

एक पोका सर्वोतम पीठोलाई एक सय रुपैयाँमा बेच्ने गर्छन् । १८ जनाको समुहले कामको भागबण्डा गरेर पीठो उत्पादनमा लाग्छन् । उत्पादन गर्दा मात्रै होइन महिलाहरुले विक्रि वितरणसमेत जिम्मेवारी भागवण्डा गरेर खटिने आमा समुहका सदस्य शर्मिला आचार्यले बताउनुहुन्छ ।

२०६६ सालमा स्थापना भएको आमा समुहमा आवद्ध आफूहरुले सर्वोत्तम पिठो उत्पादन र विक्रिमात्रै नभई कोही महिला गर्भवति वा सुत्केरी हुँदा र बालबच्चालाई पोषणयुक्त खानाको बारेमा जानकारी दिन पुग्ने गरेको आमा समुहका सदस्य कृष्णा ढकाल बताउँहुन्छ ।

सुन्नहोस् अडियो रिपोर्ट प्रविण शाहीबाटः