हेर्नुहोस् ढकमक्क लालिगुराँस (फोटो र भिडियोसहित)

दीपेन्द्र ‌ओली ।

सुर्खेत, १४ चैत (जागरण) । ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै मायाँ ।’ सविन राइले गाएको यो गीत जस्तै अहिले पहाडका विभिन्न जंगलमा ढकमक्क लालिगुराँस फुलेका छन् र ती राता गुराँससँगै फोटो खिच्ने र गुराँससँगै रमाउने मौसम हो यो ।

अहिले नियमित कामबाट समय निकाल्नासाथ सुर्खेत र दैलेखका उच्च जंगलतर्फ गुराँस हेर्न जानेको लर्को देख्न सकिन्छ । नेपालको राष्ट्रिय फूल लालिगुराँस सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम लगायतका जिल्लामा बढीमात्रामा फूल्ने फूल हो ।

कर्णाली प्रदेशको राजधानी तथा ५ नम्वर प्रदेशका बाँके बर्दियाबाट समेत वीरेन्द्रनगर नगरपालिका वडानम्वर १३, १४, १५ र १६, चिङ्गाड गाउँपालिकाका विभिन्न वडा, सिम्ता गाउँपालिका र लेखवेसी नगरपालिकाका विभिन्न वडा तथा दैलेखको गुराँस गाउँपालिका सम्म गुराँस हेर्न पर्यटकहरु पुग्ने गरेका छन् ।

‘म त लालिगुराँस भएँछु । वनैभरी फूलिदिन्छु, मनैभरी फूलिदिन्छु ।’ स्वरसम्राट गायक नारायण गोपाल गुर्वाचार्यको यो गीत जस्तै गुराँस हेरेर फर्किएपछि यही गीत मानसपटलमा गुञ्जिने गरेको बाँकेबाट गुराँस हेर्न दैलेखसम्म पुग्नुभएका समशेर केसीले बताउनुभयो ।

खासगरी सुर्खेत र दैलेखका सडकखण्ड छेउछाउँमा समेत लालिगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ । लालिगुराँस हेर्न पुग्नेहरुले आफूहरुको आन्तरिक पर्यटनलाई सघाऊ पुर्‍याएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । यस्तै बाहिरबाट गुराँस गाउँपालिका सम्म पुग्ने पर्यटकले स्थानिय कृषि उत्पादन समेत किन्ने भएकाले आफूहरु खुसी भएको कृषकको भनाई छ ।

लालिगुराँस हेर्ने पर्यटकलाई आकर्षित गर्न र क्षति कम गराउनका लागि दैलेखको गुराँस गाउँपालिकालाई ‘गुराँस संरक्षण क्षेत्र’ को रुपमा घोषणा समेत गरिएको छ । घोषणाअनुसार गुराँस हेरेर मनोरञ्जन लिन र रमाउन अनुरोध गर्दै गाउँपालिकाले फूल नटिपी दिन अनुरोध समेत गरेको छ ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाको कवितामा लेखिएअनुसार ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फूल नानि हो, दया र धर्म भाग्दछ ।’

तपाई पनि लालिगुराँस हेर्न चाहनुहुन्छ भने कर्णाली प्रदेशको राजधानीबाट २० मिनेट सवारीसाधनमार्फत् यात्रा गर्दा सुन्दर गुराँस फूल्ने पखेरीसम्म पुग्न सक्नुहुन्छ । त्यसैले वसन्त ऋतुको अनुमप उपहार गुराँस हेर्नुहोस् र मज्जा लिनुहोस् तर गुराँस नचुँडि आफ्नो शिष्टता प्रदर्शन गर्नुहोस् ।

अव हेर्नुहोस् भिडियोमा गुराँस हेर्दै यात्रा गर्दैः