गरिबीले छेकेन पढ्न, सांसद रावत बने गोबिन्दको अभिभावक

सुर्खेत, ८ वैशाख (जागरण) । आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित सुर्खेतको पञ्चपुरी नगरपालिका ५ का एक बालकको सांसद नवराज रावतले अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
बुवा गुमाएका सात वर्षीय गोविन्द बिसीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद रावतले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
गोबिन्दकी आमा शोभा बिसीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । छोरा पढाउनु त टाढाको कुरा हो, उहाँले भन्नुभयो,‘बिहान बेलुकीको छाक टार्नै धौ धौ छ, अरु साथीहरु स्कुल जाँदा मेरो छोरा म काम गर्ने ठाउँमा खेलिरन्थ्यो ।’ सांसद रावतले जिम्मा लिएपछि अब भने गोबिन्द विद्यालय जान पाउनुहुने भएको छ ।

सांसद रावतले गोबिन्दको पढाइका लागि लाग्ने सबै खर्च आफूले बेहोर्नेगरी विद्यालय भर्ना गराएपछि उहाँ विद्यालय जान पाउनुहुने भएको हो ।
सांसद रावतले हिजो युवाज्योति आधारभूत विद्यालय पञ्चपुरीमा गोविन्दलाई कक्षा १ मा भर्ना गराउनुभएको छ ।
उहाँलाई कक्षा १ देखि १० सम्म विद्यालय पोशाकदेखि, अन्य शैक्षिक सामग्री र खाजा खर्च लगायत अन्य खर्च समेत सांसद रावतले बेहोर्नुहुनेछ ।
छोराले विद्यालय गएर पढ्न पाउने भएपछि गोविन्दकी आमा शोभा पनि खुसी हुनुभएको छ ।
उहाँले आफ्नो छोराको पढाइ खर्चको जिम्मा लिएकोमा सांसद रावतलाई धन्यवाद समेत दिनुभयो । विद्यालय जान पाउने भएपछि हर्षित भएका गोविन्दले अब साथीहरुसँग विद्यालय गएर पढ्ने बताउनभयो ।
सांसद रावतले आर्थिक अवस्था कमजोर भएकै कारण कसैले शिक्षा पाउनबाट वञ्चित हुन नपरोस भनेर बिसीको अभिभावकत्व आफूले लिएको बताउनुभयो । सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई सघाउ पुर्‍याउनेगरी गोविन्दको अभिभावकत्व ग्रहण गरेको उहाँको भनाई छ ।
उहाँले कमजोर आर्थिक अवस्थाकै कारण कुनै पनि बालबालिका पढ्नबाट वञ्चित हुनु विडम्बना भएको भन्दै आफ्नो तर्फबाट त्यस्ता बालबालिकालाई सक्दो सहयोग गर्ने बताउनुभयो ।