सुर्खेत, ८ वैशाख (जागरण) । अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको छ । विगत १३ वर्षदेखि सुर्खेत जिल्लामा रही अपांगता भएको व्यक्तिको सशक्तिकरणका लागि काम गर्दै आएको केन्द्रले अब कर्णाली प्रदेश भर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको हो ।
वीरेन्द्रनगरमा डेकको १३औँ वार्षिक साधारणसभा तथा चुनावी सभाको उद्घाटन सत्रमा बोल्दै केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले अब प्रदेशभरीका सात सय बढी अपांगता भएका व्यक्तिको हकमा काम जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले अहिले देशव्यापी रुपमा चलिरहेको भर्ना अभियानमा अपांगता भएका कोही पनि व्यक्तिलाई नछुटाउन आग्रह गर्नुभयो । अपांगतासँगसँगै विपन्न बालबालिकाको पनि अभिभावकत्व ग्रहण गर्न उहाँले उच्च पदस्थ व्यक्तिहरुसँग छलफल गरिने पनि बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले अपांगताको अधिकार सुनिश्चित गर्नका लागि सबैसँग हातेमालो गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्षमा पुनः शर्मा
अपांग सशक्तिकरण केन्द्र सुर्खेतको अध्यक्षमा पुनः विष्णुप्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार वीरेन्द्रनगरमा भएको केन्द्रको १३औँ चुनावी सभाबाट शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जस्को उपाध्यक्षमा किमसरा खत्री, सचिवमा पुर्णप्रसाद आचार्य, सहसचिव मोहनमाया थापा र कोषाध्यक्षमा विष्णुपसाद भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा पुर्ण तिवारी, योगेश शाही, मन्जु धमला, चन्द्रा हमाल, तोरण अधिकारी र पिमकली ढकाल रहनुभएको छ ।
जागरणकर्मीलाई सम्मान
सोही अवसरमा अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा काम गरी सशक्तिकरणमा भुमिका खेलिएको भन्दै जागरण एफएममा कार्यरत पत्रकार चाँदनी कठायतलाई सम्मान गरेको छ ।
विद्यतुीय तथा छापा माध्यममा काम गरी अपांगता भएका व्यक्तिको क्षेत्रमा कलम चलाएको भन्दै नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।