गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश

रुकुम, ८ वैशाख (जागरण) । त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
चैत्र २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र त्रिवेणी गाउँपालिका ३ खारानेटामा सार्ने निर्णय गरेको थियो ।
त्यस निर्णय खारेज गरी गाउँपालिकाको केन्द्र सिम्रुत गरी पाउँ भन्दै त्रिवेणी गाउँपालिका–७, का मिनबहादुर ओलीले विहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
त्यस रिटको सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायधिश दीपकराज जोशिको एकल इजलासले गाउँपालिकाको केन्द्र सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको हो ।
गएको पुस २४ गतेको सूचना अनुसार त्रिवेणी गाउँपालिकाको कार्यालय सिम्रुतु–खारानेटा उल्लेख भएकाले सिम्रुतुमा नै कार्यालय स्थापना गरी काम गर्न र केन्द्र अन्य ठाउँमा लैजाने कार्य रिटको अन्तिम टुंगो नलागेसम्म नगर्न नगराउन पनि आदेशमा दिइएको छ ।
गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले स्वायत्त स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएर सर्वोच्चले हस्तक्षेप गरेको बताउनुभयो ।
स्थानीय तह स्वायत्त सरकार भएकाले यसमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न नमिल्ने उहाँको दाबी छ ।