सुर्खेत, २१ चैत (जागरण) । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले हिंसा प्रभावित व्यक्तिहरुका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा रहेका हिंसा प्रभावितहरुको गास, बास र कपासमा सहयोग गर्ने उद्देश्यले मन्त्रालयले सहयोग प्रदान गरेको हो ।
सामाजिक विकास मन्त्री दल रावलले आश्रम सञ्चालन गरेको मानव सेवा समाजका कर्णाली प्रदेश सहसंयोजक सञ्जिता गौतमलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
हिंसा नभई कुनै पनि व्यक्ति सडकमा नआउने भएकाले त्यस्ता हिंसा प्रभावितहरुको खान, बस्न र लगाउन सहयोग होस् भनेर मन्त्रालयले सहयोग रकम हस्तान्तरण गरिएको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो ।
सुन्नुहोस् ज्ञवालीको आवाजमा
आश्रममा विभिन्न जिल्लाका २४ जना हिंसा प्रभावित व्यक्तिहरुलाई रहेका छन् । वीरेन्द्रगनर नगरपालिका, सामाजिक विकास मन्त्रालयलगायतका निकायले अभिभावकत्व गर्नेगरी आश्रमको स्थापना गरिएको छ ।
मन्त्रालयले सहयोग रकम हस्तान्तरण गरेपछि मानव सेवा समाजकका प्रदेश सहसंयोजक गौतमले आफूहरुको अभियानमा सरकारले साथ दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपालका विभिन्न क्षेत्रमा सडक, पेटीमा बसी मागेर जीवन विताइरहेकाहरूलाई आवाससहित उनीहरूको हेरचाह आश्रमले गर्ने गरेको छ ।