नेपालमै पहिलो पटक कर्णालीका सवै कारागारमा पुस्तकालय

सुर्खेत, २३ चैत (जागरण) । कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्न कर्णाली प्रदेशका सबै कारागारहरुमा पुस्तकालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज सुर्खेत कारागारमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले कितावबाट नै जीवन रुपान्तरणको ज्ञान मिल्ने भएकोले कैदीवन्दीको जीवन उज्यालो बनाउन कर्णाली प्रदेशबाट अभियान थालिनु गौरव भएको बताउनुभयो ।


उहाँले कारागारलाई यातना गृह होइन सुधार गृह बनाउने अभियानमा लाग्नुपर्ने सुझाव दिदैं जीवनको बाटो देखाउन पुस्तकालय स्थापना भएको उल्लेख गर्नुभयो ।
सामाजिक विकास मन्त्री दल रावलले कैदीवन्दीहरुलाई आवश्यक पर्ने सीप विकासको तालिमहरु प्रदेश सरकारले दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले मन्त्रालयले पुस्तक खरिदका लागि अभियानलाई पाँच लाख सहयोग गरेको जानकारी दिनुभयो ।
पुस्तक अभियानका संयोजक एवं कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले कारागारमा बन्दी जीवन विताइरहेका कैदीवन्दीहरुलाई कितावी ज्ञानबाट सत्कर्ममा लगाउनका लागि यो अभियान थालिएको बताउनुभयो ।
जिल्ला तथा प्रदेश गरीका पुस्तकालयमा २१ लाख मूल्य बराबरका कूल आठ हजार ३ सय ८८ वटा पुस्तकहरु राखिएको छ ।
२०७५ पुस ३ गतेदेखि कारागारलाई पुस्तक अभियान थालिएको थियो ।